माओवादी केन्द्रसँग एकताका लागि समिति बनाउने एकीकृत समाजवादीको निर्णय

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरूको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट सुरु हुने बताए । उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरूमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए ।

डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरू अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरू रहनुपर्ने सुझाव दिएको बताए । उनले बैठकले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको बताए ।

उपमहासचिव डा. तुलाधरले बुधबारको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए । उनले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसद्को लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरूसहितको राय उल्लेख गरेर केन्द्रीय कमिटीमा पठाउने बताए ।

उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकको निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर