अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगीधन्दा, तीन जना पक्राउ

अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुरठिमी नगरपालिका–९ का सुरेश भन्ने २८ वर्षीय प्रदीप कर्मचार्य, मुगु खत्याड गाउँपालिका–११ घर भई काठमाडौं बूढानिलकण्ठ नगरपालिका–२ बस्ने २४ वर्षीय विशाल कार्की र मुगु खत्याड गाउँपालिका–८ का २१ वर्षीय रामकृष्ण रावत रहेका छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले ज्ञानेश्वस्थित कम्पनीको कार्यालयबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरबाट जारी भएको निरज पाण्डेयको हराएको सक्कल नागरिकता भेट्टाएका थिए। सोही नागरिकता दुरुपयोग गरेर २०७८ मंसिर २८ गते ज्ञानेश्वरमा एभरेष्टलिंक इन्टरनेशनल एजुकेशन प्रालि नामको प्राइभेट कम्पनी दर्ता गरी ठगीधन्दा सञ्चालन गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूमध्ये प्रदीपलाई उक्त कम्पनीको सीईओ बनाइएको थियो। विशालले पीडितको नाममा बैंकमा खाता खोलेको र रामकृष्णले सहजकर्ताको भूमिका निर्वाह गरेको खलेको छ।

कम्पनी दर्तापछि उक्त नागरिकताबाट सेञ्चुरी तथा कुमारी बैंकमा खाता खोलेको र वैदेशिक रोजगारीमा रसिया पठाइदिने प्रलोभनमा आफ्नो नामबाट  अन्य व्यक्तिलाई ठगी गरेको भनी पीडित पाण्डेयले प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहरीका आधारमा खोज अनुसन्धान थालेको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर