![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![स्रोत नखुलेको ६९ लाख रकमसहित तीन जना पक्राउ](https://www.pardafas.com/wp-content/uploads/2022/06/Arrest.jpg)
नेपाल प्रहरीले स्रोत नखुलेको रु ६९ लाख रकमसहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले स्रोत नखुलेको रकमसहित काठमाडौँ मनमैजुका ४५ वर्षीय माधव श्रेष्ठ, बारा घर भई काठमाडौँको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिलकुमार साह र धनुषा जनकपुर घर भई काठमाडौँको टेकु बस्ने ३३ वर्षीय अङ्कित गोयन्कालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो ।
कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले गैरकानुनीरूपमा हुण्डीमार्फत वित्तीय कारोबार गर्दै आएका उनीहरुलाई काठमाडौँको घण्टाघर क्षेत्रबाट पक्राउ गरिएको जानकारी दिए । काठमाडौँ महानगरपालिका–२८ घण्टाघरस्थित जामे मार्केट भवनमा सटर भाडामा लिई श्रेष्ठले सञ्चालन गरेको सन्जोग टुर्स एण्ड ट्राभल्स प्रालिमा लुकाइछिपाइ राखेको रकम र हुण्डीको भुक्तानी गर्न आएका अङ्कित गोयन्काका कर्मचारी साह र गोयन्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले गोयन्काले कलङ्कीमा सञ्चालन गरेको आनी इन्टरनेशनलको कार्यालयबाट थप रु नौ लाख बरामद गरेको छ । यस्तै, फास्ट ट्रयाक इन्टरनेशनल प्रालिको नाममा काटिएको सानिमा बैंकको रु १५ लाख बराबरको चेकसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको सूचना अधिकृत कोइरालाले बताए ।
प्रतिक्रिया