प्रविधिको प्रयोगमार्फत हुने अपराध रोक्न प्रहरी स्वयम् प्रविधिमैत्री हुनुपर्छ : आईजीपी सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रविधिको प्रयोगमार्फत हुने अपराधहरू बढिरहेकोले यसको रोकथाम तथा नियन्त्रणमा प्रहरी स्वयम् प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताएका छन् ।

विराटनगरमा बिहीबार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा संयुक्त रूपमा आयोजित १ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा बोल्दै आईजीपी सिंहले यस्तो बताएका हुन् ।

अपराध अनुसन्धानका मूख्य खम्बा अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पिडकले सजाय पाउने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूले अझ बढी संवेदनशील भई पारदर्शी रूपमा काम गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा प्रमुख अतिथि १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेको वर्तमान परिवेशमा अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमूलक अनुसन्धानका निमित्त स्रोत साधनको व्यवस्थापनका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धानको क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गोष्ठीमा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले अपराध अनुसन्धानमा प्रहरीले गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताउँदै अपराध अनुसन्धान र नियन्त्रणमा सम्बद्ध सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानमा देखिएका समस्याबारे जानकारी लिने र त्यस्ता समस्या समाधानमा गोष्ठीले पुलको रूपमा काम गर्ने उल्लेख गरे ।

गोष्ठीमा उच्च अदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरि निरौलाले अपराधको प्रवृत्तिमा भइरहेको परिवर्तनले प्रहरीलाई थप चुनौति थपिएकोले प्रहरीले आफूलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए ।

प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पारेको उक्त गोष्ठीमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले धन्यवाद ज्ञापन गरेका थिए । उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलिया र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गोष्ठीमा आ–आफ्नो मन्तव्य राखेका थिए ।

अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ–नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेशभित्रका अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको थियो ।

गोष्ठीमा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, संचारकर्मी र प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *