भ्रष्टाचार आरोप लागेका सशस्त्रका एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसियो, छानबिन गर्दै हेडक्वार्टर

भ्रष्टाचार आरोप लागेका सशस्त्र प्रहरी बल, नेपाल दार्चुलाका एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको छ। आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी विष्टको जिम्मेवारी खोसिएको सशस्त्र मुख्यालयले जनाएको छ।

एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाइ सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको मुख्यालय स्रोतले जनायो।

‘उहाँलाई केही दिन पहिले नै हेडक्वार्टर झिकाइएको थियो। छानबिनका सबै कागजात मगाइएको छ,’ हेडक्वार्टर स्रोतले पर्दाफाससँग भन्यो।

कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिन प्रावधान भए पनि त्योभन्दा बढी ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर राशन अनियमितता गरेको आरोप छ। राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो। समितिले एसपी विष्टलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। यसअघि नै एसपी विष्टलाई सशस्त्रको ७ नं बाहिनीले स्पष्टिकरण सोधेको थियो। यसअघि राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेशसिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो।

हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप साहुमाथि लागेको छ। राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचनासमेत बाहिर पठाउने गरेको आरोप उनीमाथि लागेको छ। उक्त आरोप लागेपछि गठन भएको सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला भने हुन बाँकी नै छ।

हवल्दारलाई कारबाही गरे पनि एसपीलाई जोगाएको आरोप लाग्दै आएको थियो। चौतर्फी विरोधपछि सशस्त्रले एसपीलाई जिम्मेवारीबाट तानेको हो। गणका प्रमुख विष्टले रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप छ। सुरक्षा निकायमा एकसाथ यति धेरै बिदा छाड्न पाइँदैन। गणमा कार्यरत बिदामा बस्दा रासन भत्ता कटौती हुने गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर