कुन दलका शीर्ष नेता कहाँबाट चुनाव लड्दैछन् ? को कति सुरक्षित ?

आसन्न चुनावको मिति निजिकिँदै गर्दा सत्तारूढ गठबन्धन र विपक्षी दलहरूका नेताहरू को कहाँबाट प्रतिस्पर्धा गर्लान् भन्ने आममानिसमा चासो बढ्दै गएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा पहिलेजस्तै गृह जिल्ला डडेलधुराबाट पुनः प्रतिस्पर्धाको तयारीमा रहेका छन् । २०४८ यताको सबै आम  निर्वाचनमा उनी त्यही क्षेत्रबाट प्रतिस्पर्धामा रहेका छन् । २०४८ सालको आमनिर्वाचन, २०५१ सालको मध्यावधि आमनिर्वाचन, २०५६ सालको आमनिर्वाचन, २०६४ र २०७० सालको संविधान सभा चुनाव र २०७५ सालको संघीय ससद्का लागि देउवा उम्मेदवार हुँदै र जित्दै आएका छन् ।

त्यसअघि उनले २०६४ सालको पहिलो संविधान सभा चुनावमा डडेलधुराको अतिरिक्त कञ्चनपुर–४ र दोस्रो संविधान सभा चुनावमा कैलाली–६ बाट प्रतिस्पर्धा गरेका थिए । देउवाले चुनावमा प्रतिस्पर्धा गरेको सबै स्थानमा जित हासिल गरेर शतप्रतिशत नतिजा निकालेका छन् ।

केपी शर्मा ओली आफ्नो पुरानो क्षेत्र झापा–५ बाटै प्रतिस्पर्धाको तयारीमा रहेका छन् । ओलीले गृह नगर दमकसहित पश्चिम झापाबाटै सबै निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । २०६४ सालको पहिलो संविधान सभा चुनावमा बाहेक उनी त्यस ठाउँबाट पराजित भएका छैनन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ बाट प्रतिस्पर्धाको तयारीमा छन् । अहिले निर्वाचित रहेको काठमाडौं–२ भन्दा गृहनगर रौतहट–१ सुरक्षित देखिएकाले उनले उतैबाट प्रतिस्पर्धा गर्न लागेका हुन्। गत स्थानीय चुनावमा सो निर्वाचन क्षेत्रबाट एकीकृत समाजवादीले सबैभन्दा बढी मत प्राप्त गरेको थियो । नेपाल एकपटक सो निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । नेपाल २०६४ सालको चुनावमा काठमाडौं–२ र रौतहट–६ बाट पारजित भएका थिए । उनी २०७० सालको दोस्रो संविधान सभा चुनावमा रौतहटबाट विजयी भएका थिए ।

त्यसैगरी धेरै निर्वाचन क्षेत्र परिवर्तन गर्ने नेता शीर्ष नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पर्छन् । स्थानीय कांग्रेसका नेताहरूले चितवन–३ भन्दा अन्य निर्वाचित क्षेत्र प्रचण्डलाई सुझाव दिँदै आए पनि उनी निर्वाचन क्षेत्र दोहोर्‍याउने पक्षमा छन् । पहिलो संविधान सभा चुनावमा काठमाडौं–१० र रोल्पा–२ बाट निर्वाचित भएका प्रचण्डले २०७० सालमा दोस्रो संविधान सभा चुनावमा मिश्रित परिमाण हात पारे । त्यस समयमा उनले काठमाडाैं–१० र सिरहा–५ बाट प्रतिस्पर्धा गरेका थिए । काठमाडौं–१० मा तेस्रो स्थानमा रहेका प्रचण्ड सिरहाबाट निर्वाचित भएका थिए । २०७४ सालको चुनावमा एमाले र माओवादी गठबन्धनबाट प्रचण्ड गृहनगर चितवन–३ बाट निर्वाचित भएका थिए ।

भर्खरै नयाँ दल नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई गोर्खा-२ बाट निर्वाचित हुँदै आएका छन् । यसपटक पनि उनी सोही निर्वाचनबाट लड्ने तयारीमा छन् । नेकपा माओवादी केन्द्रको गोलाकारभित्रको हसियाँ हतौडा चुनाव चिह्न लिएर चुनाव लड्ने सहमति गरेका भट्टराईले २०६४ र २०७० सालको संविधान सभा चुनाव त्यही क्षेत्रबाट जितेका थिए । २०७० सालमा रुपन्देही–४ बाट प्रतिस्पर्धा गरेका भट्टराई पराजित भएका थिए । २०७४ को चुनावमा भट्टराईले नयाँ शक्ति पार्टीबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । आँखा चुनाव चिह्नहबाट प्रतिस्पर्धा गरेका भट्टराईले एमालेसँग गठबन्धन गरेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झापा–३ बाटै प्रतिस्पर्धा गर्दैछन् । गत चुनावमा एमालेसँग झापामा तालमेल गरेका लिङ्देनले एमालेसँग देशभर चुनाव तालमेल गर्न चाहेका छन् । गत स्थानीय चुनावमा राप्रपाले भरतपुर महानगरपालिकामा एमाले र झापाको दमक नगरपालिकामा कांग्रेस, माओवादी केन्द्रसहितको पाँदलीय गठबन्धनसँग तालमेल गरेको थियो ।

संघीय समाजवादी पार्टीका उपेन्द्र यादव यसपटक सप्तरीबाट दोहोरिन चाहेका छन् । पहिलो र दोस्रो संविधान सभा चुनावमा यादवले फरकफरक निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए ।

महन्थ ठाकुरको महोत्तरी–३ बाट उठ्ने निश्चित भएको बताइँदै गर्दा राजेन्द्र महतोको निर्वाचन क्षेत्र भने टुंगो लागेको छैन । सर्लाहीका महतो धनुषा–३ बाट निर्वाचित भएका थिए । नेपाल समाजवादी पार्टीका दोस्रो नम्बरका अध्यक्ष सर्लाही–२ बाट प्रतिस्पर्धा गर्नेछन् । यादव पनि २०४८ सालबाहेक अन्य चुनावमा पराजित भएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *