अपराध नियन्त्रणमा अब्बल सिरहा प्रहरी

आपराधिक क्रियाकलाप नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सिरहा अब्बल देखिएको छ । गत आर्थिक वर्ष २०७८/०७९ मा भएका विभिन्न प्रकृतिका अपराधमा संलग्न प्रतिवादी पक्राउ, कैद भुक्तान, जरिवाना असुल, दर्ता भएका मुद्दा फर्स्योटलगायतले आपराधिक क्रियाकलाप न्यूनीकरणमा सिरहा प्रहरीको कार्य अब्बल देखाएको हो।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आर्थिक वर्षभरिमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई फरार रहेका २७२ जना प्रतिवादीहरूलाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये १५३ जना पुरुष र १९ जना महिला छन्। अदालतले दोषी ठहर गरेपछि प्रहरीको फरार सूचीमा रहेका उनीहरूलाई विभिन्न मिति र स्थानबाट पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ। पक्राउ परेका जम्मा प्रतिवादीहरूलाई अदालतले १०३ वर्ष ६ महिना १० दिन कैद सजाय र १ करोड ५ लाख ६४ हजार ३८९ रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

यस्तै गत आर्थिक वर्षमा लागुऔषधसम्बन्धी १६९ मुद्दा दर्ता भएकोमा तिनमा संलग्न २४४ प्रतिवादीलाई पक्राउ गरिएको, दर्ता भएकामध्ये १५२ वटा मुद्दा फर्स्योट गरिएको र १७ वटा मुद्दा चालु अवस्थामा रहेको वार्षिक प्रगति विवरणमा उल्लेख छ।

यसैगरी सिरहा प्रहरीले गत आर्थिक वर्षमा अवैध मदिरा नियन्त्रणमा पनि उल्लेख्य कार्य गरेको छ। यसअन्तर्गत अवैध मदिरा उत्पादन गर्ने २२ वटा भट्टीबाट ३१ हजार ४९० लिटर कच्चा पदार्थ, ७ हजार १९ लिटर तयारी मदिरा नष्ट र ३१ वटा मदिरा उत्पादनमा प्रयोग भएका ३१ मेसिन बरामद गरेको छ।

त्यस्तै भन्सार छली गरी सामान ओसारपसार गर्ने ३४ जना व्यक्ति र सामन ओसारपसारमा प्रयोग गरिएका २१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। भन्सार छलीबापत उनीहरूबाट असुल भएको ३ करोड १० लाख १८ हजार ७६९ रुपैयाँ भन्सार कार्यालयमा दाखिला गराइएको छ।

त्यस्तै ३ फिटे २९ थान, ४ फिटे ७ थान, ४/४ को ६ फिटे ६ थान, ४ फिटे ५ थान र ९ फिट लम्बाइ, ५ फिट चौडाइको ९ थान अवैध काठ बरामद गरी आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाइएको सर्लाही प्रहरीले जनाएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सिरहा प्रहरीले विभिन्न मिति र स्थानमा ६३३ वटा जनचेतामूलक कार्यक्रम गर्दा ती कार्यक्रममा ६८ हजार ३०८ जना सहभागी भएका छन्।

गत आर्थिक वर्षभरि जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा परेका १ हजार ५८ उजुरीमध्ये ८८७ वटाको मिलापत्र गरी किनारा लगाइएको छ भने १७१ वटा चालु अवस्थामा छन् ।

त्यसैगरी गत आर्थिक वर्षभरिमा ट्राफिक नियम उल्लंघन गर्ने ४३ हजार २१९ वटा सवारी साधनका चालकलाई कारबाही गरिएको छ। ती सवारी साधन कारबाहीबाट ३ करोड १७ लाख ६२ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षमा ५७६ वटा सवारी दुर्घटना हुँदा ५३ पुरुष, १० महिला र ९ बालबालिकाको मृत्यु भएको छ। ६९६ जना घाइते भएका छन्।

सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास बुढाथोकीले जिल्ला प्रहरी कार्यालयसँगै मातहतका प्रहरी इकाइका प्रहरी कर्मचारीको सक्रियताका कारण अपराध न्यूनीकरणमा उल्लेख्य सफलता हासिल गर्न सफल भएको बताए।

‘अपराध नियन्त्रण एकल प्रयासले सम्भव छैन,’ उनले पर्दाफाससँग भने,‘यसमा मातहका प्रहरी इकाइ र समुदायको पनि उत्तिकै भूमिका रहन्छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *