ऊर्जामन्त्री भुसालसँग बंगलादेशी प्रतिनिधिमण्डलको भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा रहेको बंगलादेशको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । बुधबारदेखि काठमाडौँमा हुने नेपाल–बंगलादेशको संयुक्त निर्देशक समितिको बैठकका लागि नेपाल भ्रमणमा रहेको प्रतिनिधिमण्डलले सोमबार मन्त्री भुसालसँग मन्त्रालयमा भेटवार्ता गरेको हो ।

भेटमा मन्त्री भुसालले दुई देशबीच हुने नियमित बैठकले अनुभव आदानप्रदान हुनुका साथै आपसी सम्बन्ध विस्तार गर्ने विश्वास व्यक्त गरिन् । उनले नेपालसँग जलविद्युत् पर्याप्त रहेको र मित्रराष्ट्र बंगलादेशलाई स्वच्छ ऊर्जाको आवश्यकता परेको वर्तमान अवस्थामा त्यसका लागि नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । मन्त्री भुसालले बुधबारदेखि हुने संयुक्त बैठकमा सो विषयमा विचार विमर्श हुने विश्वाससमेत व्यक्त गरिन् ।

ऊर्जा क्षेत्रको उत्पादन, प्रसारणलाइनको निर्माण र व्यापारका लागि बंगलादेश, भुटान, भारत र नेपाल(बीबीआईएन) माझ सहकार्य हुँदा सदस्य मुलुकलाई फाइदा पुग्ने उल्लेख गर्दै उनले बीबीआईएनलाई सक्रिय तुल्याउन बंगलादेशले महत्त्वपूर्ण पहल लिनसक्ने बताइन् ।

सो अवसरमा बंगलादेशका पावर, इनर्जी एन्ड मिनिरल रिसोर्सेस मन्त्रालयका सचिव महोमद हबिबुर रहेमानले नेपालमा उत्पादन भएको स्वच्छ ऊर्जा आफ्नो देशका लागि आवश्यक भएको बताए । उनले आफूहरूले नेपालको विद्युतीय ऊर्जा बंगलादेश लैजान चाहेको बताए । उनले नेपाल, भारत र बंगलादेशमाझ सहकार्य गरेर विद्युत् आफ्नो देशमा लैजान पहल गरिरहेको जानकारी गराए ।

बैठकमा ऊर्जा सचिव सुशीलचन्द्र तिवारी, सहसहिच मधु भेटुवाल, बाबुराम भण्डारीसहित परराष्ट्र प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर