अवैध रूपमा ‘अनलाइन गेमिङ’मार्फत लाखौं कारोबार गर्ने गिरोह पक्राउ

अनधिकृत रूपमा अनलाइन गेमिङमार्फत लाखौं रुपैयाँको कारोबार गर्ने गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धित वान–एक्स–बेट एप्लिकेसनमा पैंसा हारजित हुने खेल खेलाएर लाखौँ रुपैयाँको कारोबार गर्ने उनीहरुलाई झापाको दमकआसपासबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक नगरपालिका ८ का २५ वर्षीय सतप्रकाश साह, ३३ वर्षीय राजु लिम्बू, दमक ७ का २७ वर्षीय राजु श्रेष्ठ र कमल गाउँपालिका २ का ३० वर्षीय अरुण कार्की छन् । उनीहरूले कन्सल्टेन्सीमा आउने विद्यार्थीको प्रयोगका लागि विभिन्न सरकारी कार्यालय तथा जनप्रतिनिधिको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्र तथा एसईईको प्राप्तांकसमेत परिवर्तन गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पैसा हारजित हुनेगरी खेल खेल्न तथा उक्त खेल खेलाउन अनधिकृत रूपमा अन्य व्यक्तिहरुको नागरिकताबाट सिम झिक्ने तथा सट्टेबाजीका लागि आवश्यक रकम पाउन इसेवाको खाता खोली लाखौं रुपैयाँको कारोबार गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । पक्राउ परेका साह स्थानीय पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक हुन् । उक्त अनलाइन गेमिङ खेलाउने तथा सट्टेबाजीका लागि विभिन्न इसेवा खाताबाट साहको खातामा ८० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी पाठकले बताए ।

पक्राउ परेका राजु श्रेष्ठ पनि पद्मा इन्टरनेसनल कन्सल्टेन्सीका सञ्चालक हुन् । त्यस्तै योर्स कम्युनिकेसन एन्ड फोटो स्टुडियोका सञ्चालक अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङ सेन्टरका सञ्चालक राजु लिम्बू मेतले कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगका लागि विभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकार कार्यालयको नक्कली पत्र तयार गर्ने तथा विद्यार्थीहरुको एसईईको प्राप्त ग्रेड परिवर्तन गर्न लगाउने गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी पाठकले बताए ।

उनीहरूलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ को सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धका कसुर र परिच्छेद २५ को लिखत सम्बन्धित कसुरअन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर