उपत्यकाको सम्पदा अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने सरकारको तयारी

सरकारले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौं उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने बताए । उनले सोमबार नेपाल व्यवसायी कलाकार संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

मन्त्री श्रेष्ठले काठमाडौंका सांस्कृतिक सम्पदा घुम्न आउने विदेशी तथा स्वदेशी पर्यटकहरूलाई सम्पदा क्षेत्रको अवलोकन गर्न सार्वजनिक सवारी सहज नहुने भन्दै सहजताको लागि ‘होप अन हप अफ’ सिटी बस सेवा सञ्चालन गर्ने योजना अघि सारिएको बताए । उनले पर्यटन पुनरुत्थान कार्य योजनाअनुरूप स्वयम्भू स्तुपा र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पद यात्रामा जोड्ने गरी कार्य अगाडि बढाइएको पनि जानकारी दिए ।

उनले त्यसका लागि ठेक्का प्रक्रियाको काम समेत सम्पन्न भइसकेको बताए । मन्त्री श्रेष्ठले अबका दिनमा नेपालभित्र रहेको संस्कृति र सम्पदाहरूलाई आर्थिक आर्जनसँग जोड्नुपर्नेमा समेत जोड दिए । उनले संस्कृति र सम्पदाहरूलाई संरक्षण गर्ने हो भने त्यसलाई आर्थिक आर्जनसँग जोड्नुपर्ने भन्दै आम्दानी नभई भावनामा मात्रै संस्कृति र सम्पदाहरूलाई संरक्षण सम्भव नहुने उल्लेख गरे ।

मन्त्री श्रेष्ठले नेपालको पर्यटन क्षेत्र विकासको लागि मुलुकका सांस्कृतिक सम्पदाहरूलाई संरक्षण र संवर्द्धन गर्दै अर्थतन्त्रमा समेत टेवा पुग्ने गरी कार्य योजना अगाडि बढाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *