नेपालको जलविद्युत् महँगो भए भारत र बंगलादेशमा निर्यात हुँदैन : कुलमान

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको जलविद्युत् महँगो भए भारत र बंगलादेशमा निर्यात नहुने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिले तनहुँ जलविद्युत् आयोजना र रहुगंगा जलविद्युत आयोजनाका सम्बन्धमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय जलविद्युत् आयोजना बनाउने क्रममा सरकारको नीति नियमको कारण परियोजना महँगो हुँदै गएको बताए । निर्देशक घिसिङले जलविद्युत् आयोजना निर्माण गर्दा प्राकृतिक स्रोत प्रयोग गर्न नपाउने, वनको जग्गा प्राप्तिमा अर्बौं रुपैयाँ आयोजनाले खर्च गर्नुपर्ने भएकाले आयोजनाको लागत बढ्ने विद्युत महँगो हुने बताए ।

उनले नेपालको इनर्जीको स्रोत भनेकै जलविद्युत् भएकाले जलविद्युत सस्तो वा महँगो बनाउने सरकारको गतिविधिले निर्धारण गर्ने बताए । घिसिङले जलविद्युत् महँगो हुँदा जनतालाई समेत महँगो पर्ने बताए ।

उनले जलविद्युत् उत्पादन गरेर जति सस्तो बनाउन सकियो त्यति नै भारत र बंगलादेशमा निर्यात हुने दाबी गरे । बंलादेशमा विद्युत निर्यात गर्नको लागि भारतको भन्दा सस्तोमा विद्युत दिन सक्नुपर्ने बताए ।

घिसिङले ५० अर्बको तनहँु जलविद्युत्मा करिव ३ अर्ब वन र सरकारी जग्गा र निजी जग्गामा ३ अर्ब गरी ६ अर्ब रुपैयाँ मुआब्जामा नै खर्च भएको बताए । उनले सरकारकै जग्गाको लागि आयोजनाको ६ प्रतिशत लागत बढ्नु भनेको आयोजनाबाट उत्पादन हुने विद्युत् महँगो भएको बताए ।

निर्देशक घिसिङले सरकारले नै आयोजनाहरू महँगो बनाउँदै जाने हो भने जलविद्युत जनतालाई समेत महँगो पर्ने बताए । उनले नेपालको विद्युत् महँगो भएमा विदेशमा निर्यात हुन पनि गाह्रो रहेको बताए ।

घिसिङले प्राकृतिक स्रोत प्रयोग गरेमात्रै जलविद्युत् सस्तो पर्ने भन्दै स्रोतहरूको प्रयोग गर्ने नीति आवश्यक रहेको बताए । उनले कालिगण्डकीको कुनै पनि स्रोत प्रयोग गर्न नपाए कालिगण्डकी करिडोरमा कुनै पनि परियोजना सस्तोमा बन्न नसक्ने बताए ।

घिसिङले परियोजना बनाउने स्थानमा भएका स्रोतको आवश्यकता अनुसार प्रयोग गरेमात्रै त्यसबाट पैसा आउने दाबी गरे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर