नख्खु कारागारका कैदी हतकडीसहित शिक्षण अस्पतालबाट फरार

नख्खु कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका एक जना कैदी हतकडीसहित फरार भएका छन्। फरार हुने कैदी भाेला बुढाथाेकी हुन् ।

बुधबार अपराह्न ४ः१० बजे रामेछाप घर भएका ३८ वर्षीय कैदी बुढाथोकीलाई उपचारका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएकामा उनी सोही अस्पतालबाट एक हातमा लगाएको हतकडीसहित फरार भएको जेलर सुवासकुमार लामिछानेले पर्दाफासलाई जानकारी दिए।

उनका अनुसार बुधबार कारागारमा कैद भुक्तान गरिरहेका तीन जना कैदीलाई बिरामी भएपछि उपचारका लागि अस्पताल लगिएको थियो। दुई जनालाई वीर अस्पताल र एक जनालाई टिचिङ अस्पताल लगिएकोमा टिचिङ अस्पताल लगिएका बुढाथाेकी कैदी फरार भएका हुन्।

‘बिरामी भएपछि दुई जना कैदीलाई वीर अस्पताल र एक जनालाई टिचिङ अस्पताल लगिएको थियो,’ जेलर लामिछानेले भने,‘टिचिङ लगिएका कैदी हतकडीसहित फरार भएका छन्।’

उनले यस सम्बन्धमा थप अनुसन्धान र फरार कैदीको खोजी भइरहेको बताए। फरार कैदी अस्पताल लैजाँदा कालो भेस्ट र कालै चस्मा लगाएको, अन्दाजी ५ फिट उचाइ भएको, गहुँगोरो वर्णको रहेको लामिछानेले बताए।

कैदी फरार भएकाे नख्खु कारागार सशस्त्र प्रहरीकाे सुरक्षामा रहेकाे कारागार हाे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर