आम निर्वाचन २०७९: ८७ दलको दर्ता स्वीकृत, ७९ वटा चुनाव चिन्ह

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन निवेदन दिएका सबै ८७ वटै दलको दर्ता स्वीकृत भएको छ ।

आयोग पदाधिकारीको बुधबार बसेको बैठकले दलहरूको दर्ता स्वीकृत गर्ने निर्णय गरेको हो । आयोगका अनुसार दर्ता स्वीकृत भएपछि आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपत्रमा ७९ वटा चुनाव चिह्न रहनेछन् ।

दर्ताका लागि निवेदन दिएकामध्ये ७५ दलका आफ्नै चुनाव चिह्न रहनेछन् तर निवेदन दिँदा चारवटा समूहमा रहेका १२ वटा दलले तालमेल गर्ने निर्णय गरेर एकल चुनाव चिह्न माग गरेका थिए ।

आयोगले ती १२ दलका चारवटा चुनाव चिह्न कायम गरी दर्ता स्वीकृत गरेको छ; जसबमोजिम प्रतिनिधि सभातर्फ ७९ वटा चुनाव चिह्न कायम भएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको एकल चुनाव चिह्न स्वीकृत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (राष्ट्रवादी), समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टीको समेत एकल चुनाव चिह्न कायम गरिएको छ ।

आयोगले सामाजिक एकता पार्टी, नेकपा (समाजवादी) र नेपाल दलित पार्टीले समेत तालमेल गर्ने निर्णय गर्दै माग गरेको एकल चुनाव चिह्न स्वीकृत गरेको छ । नेपाल आमा पार्टी, नेपाल नौलो जनवादी पार्टी, सचेत नेपाल पार्टी र नेपाल सुशासन पार्टीले तालमेल गरी नेपाल आमा पार्टीको चुनाव चिह्न कायम गरिदिन माग गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *