‘अग्निवीर गोर्खा’मा नेपाली युवाको भर्ना स्थगित

भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाअनुसार गोर्खा सेनामा नेपाली युवाहरुको भर्ना तत्काल नहुने भएको छ । भारतले आजबाट बुटवल र भदौ १६ मा धरानबाट भर्ती खुलाउन चाहेको थियो ।

नयाँ भर्ना प्रक्रियालाई सहजिकरण गरिदिन भारत सरकारले पत्र लेखे पनि राष्ट्रिय धारणा निर्माण गरेर मात्रै त्यस विषयमा औपचारिक प्रतिक्रिया दिने भएको छ ।

परम्परागत रूपमा हुँदै आएको भर्ना जस्तै नयाँ भर्तीमा सहजीकरण गरिदिन भारतीय सेनाले ३१ जेठमा पत्र पठाए पनि नेपाल सरकारले अहिलेसम्म लिखित जवाफ पठाएको छैन।

भारतीय सेनाको पत्रका बारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार अरुण सुवेदीसँग मंगलबार र बुधबार छलफल गरेका थिए ।

तर स्पष्ट नीति बनाउन नसकेकाले सत्ता गठबन्धन र अन्य राजनीतिक दलहरूसँग थप छलफल गरी अन्तिम जवाफ दिने तयारी भएको छ।

प्रधानमन्त्रीसँगको छलफलपछि परराष्ट्रमन्त्री खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवलाई बुधबार साँझ मन्त्रालयमै बोलाएर छलफल गरेका थिए ।

परराष्ट्रमन्त्री खड्काले गोर्खा भर्तीमा सहजीकरण गर्न नेपाल सकारात्मक रहेको तर भारतले नयाँ सैनिक भर्ना कार्यक्रम ल्याएकाले नेपालका राजनीतिक दलहरूसँग छलफल गरेर मात्र औपचारिक जवाफ दिने जानकारी गराएको परराष्ट्र स्रोतले भन्यो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सुवेदीले सन् १९४७ को त्रिपक्षीय सन्धिले नेपाली युवा भारतीय र बेलायती सेनामा भर्ना हुन पाउने भए पनि सेवा अवधिबारे उल्लेख नगरिएकाले अहिले आएको चारवर्षे योजनाले समस्या नहुने सल्लाह प्रधानमन्त्री देउवालाई दिएका थिए।

सुवेदीले भारतीय सेनामा भर्ती हुने वा नहुने नेपाली युवाहरूको स्वतन्त्र अधिकार भएकाले भर्ना प्रक्रिया रोक्न नहुने तर्क गरेका थिए।

परराष्ट्रमन्त्री खड्काले भने ‘अग्निपथ’ योजनाले युवाहरूलाई चार वर्षको सेवा मात्र सुनिश्चित गरेको र फर्काइने युवाका विषयमा समेत सोचविचार गरेर निर्णय गर्नुपर्ने राय प्रधानमन्त्रीसँग राखेका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर