कीर्तिपुरमा पनि मापदण्ड विपरीतका संरचना भत्काउन सुरु

काठमाडौंको कीर्तिपुर नगरपालिकाले नगरभित्रका मापदण्ड विपरीतका संरचना हटाउने कार्य सुरु गरेको छ । पटकपटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण बिहीबार नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए ।

नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पासविपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले बताइन् ।

महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्डविपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिइन् ।

“उहाँहरूसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भत्काउन बाध्य भयौँ”, उनले भनिन् ।

नियम विपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएको उपप्रमुख शाक्यले बताइन् । यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्नेसमेत उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *