धनुषाकाे रत्नसागर मन्दिरको जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गरेको अभियोगमा तत्कालीन जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटीसहित ३१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

अख्तिायारले बिहीबार बस्ताकोटीसँगै मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, तत्कालीन खरिदार जगदेव कामती र सरकारी जग्गा आफ्नो नाममा दर्ता कायम गर्ने जिल्ला काठमाडौंको कमलादी बस्ने कुमार खड्गविक्रम शाहसमेत गरी ३१ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।

कर्मचारीहरूले पदीय मर्यादाविपरीत धनुषाको पिडारी चोकस्थित र रत्नसागर मन्दिरको नामको जग्गासमेत शाहको नाममा पास गरी सार्वजनिक जग्गा भोगचलन गरेको भन्ने उजुरी अख्तिायरमा परेको थियो। सो उजुरीमाथि अनुसन्धान गर्दा उनीहरू गैरकानूनी रूपमा व्यक्ति विशेषको नाममा दर्ता कायम, नापनक्सा, हालसाविक गर्ने गराउने गरी पत्राचार गर्ने, निर्णय गर्नको लागि गलत रायसहित टिप्पणी पेश गर्ने तथा स्वीकृति दिनेसमेतका गैरकानूनी क्रियाकलाप गरेको देखिएको जनाएको छ।

सो क्रियाकलापमा संलग्न कर्मचारी, पदाधिकारीहरू एवं सरकारी, सार्वजनिक जग्गा आफ्नो नाममा कायम गराउन कर्मचारीहरूलाई अनुचित प्रभावमा पारी नेपाल सरकारलाई प्रत्यक्ष हानी र आफूसमेतलाई प्रत्यक्ष लाभ पुर्‍याउने कार्यमा संलग्न रहेका अन्य व्यक्तिसमेत गरी ३१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अख्तियारले उनीहरूले २९ करोड ८८ लाख ८१ हजार ४ सय ३७ रुपैयाँ हानीनोक्सानी पुर्‍याएको देखिएकाले सोही रकम बराबर बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना असुल र कैद सजायको मागदाबी गरेको छ।

अख्तियारका प्रवक्ता भण्डारीले उनीहरूले सरकारो नाममा कायम रहेको धनुषाको साविक पिडारी गाविस वडा नं. ५ को कित्ता नं. १३२, १३३, १३४, १३५ र कित्ता नं. ६ समेतको जग्गा गैरकानूनी रूपमा खड्गविक्रम शाहको नाममा पास गरेको देखिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर