जनतामा सेनाको विश्वास बढाउन सैनिक नेतृत्व इमानदार हुनुपर्छ : प्रधानमन्त्री

नेपाली सेनाकी परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाका अवकाशप्राप्त जनरलहरूसँग लामो छलफल गरेको भोलिपल्ट रक्षामन्त्री समेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाको नेतृत्व तहमा रहेका अधिकारीहरू इमानदार र कर्तव्यपरायण भएमात्र फौजप्रति जनविश्वास बढने बताएका छन् ।

प्रधानमन्त्री देउवा बिहीबारबाट सुरुवात भएको दुई दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ मा प्रमुख अतिथिका रूपमा उपस्थित भएका हुन् ।

उनले सम्बोधनका क्रममा देशको सुरक्षा र प्रतिरक्षाजस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

‘नेतृत्व तहमा रहेका पदाधिकारीहरूको इमानदारी र कर्तव्यपरायणताबाट नै मातहतका फौजको हौसला र मनोबल उच्च हुनुका साथै समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्नसक्छ,’ प्रधानमन्त्री देउवाले भने ।

उनले सुरक्षा तथा प्रतिरक्षासम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने तथा सुरक्षासम्बन्धी विषयमा नीति निर्माण तहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवं सञ्चालनको कार्यलाई अगाडि बढाइएको बताए ।

प्रधानसेनापति प्रभुराम शर्माले शान्तिको समयमा सञ्चालन भएका विभिन्न तालिम एवम् अभ्यासहरूले नै आपतकालीन परिस्थितिमा सहजतापूर्वक कार्य गर्न सकिने भएकाले नेपाली सेनाले आन्तरिक रूपमा तथा विदेशी सेनासँग सहकार्य गरी तालिम तथा अभ्यासहरू सञ्चालन गर्दै आइरहेको जानकारी गराए । उनले नेपाली सेना मित्रराष्ट्रहरूसँगको सन्तुलित सम्बन्धलगायत छिमेकी राष्ट्रहरूको सुरक्षा संवेदनशीलतालाई समेत मध्यनजर राखी राष्ट्रिय स्वार्थमा कुनै पनि किसिमको आघात हुन नदिने पक्षमा सजग र सतर्क रहँदै आएको बताए ।

‘सामरिक महत्त्वका तालिमहरू संचालन गर्न आवश्यक साधारण तथा समन्वयात्मक विषयमा नेपाली सेनाको व्यावसायिक स्वायत्तता कायम राख्न नेपाल सरकारबाट आवश्यक पहलकदमी हुने विश्वास गर्दछु,’ प्रधानसेनापति शर्माले भने ।

उनले नेपाल सरकारको उच्चतम प्राथमिकतामा रहेको काठमाण्डौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनालगायतका राष्ट्रिय गौरवका आयोजनाहरूमा सम्बन्धित निकायको समन्वयमा स्रोत र साधनको सुनिश्चितता गरी निर्धारित समय सीमाभित्र निर्माण सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको जानकारी गराएका थिए ।

प्रधानसेनापति शर्माले सफा हिमाल अभियान, गो ग्रिन क्याम्पियनलगायत विश्वसामु देखिएका विभिन्न चुनौतीहरूमध्ये खाद्य तथा आर्थिक सुरक्षा तथा साइबर सुरक्षाजस्ता राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने सबै प्रकारका गतिविधिहरूका सम्बन्धमा नेपाली सेनाले निरन्तर अध्ययन, अनुगमन र विश्लेषण गरिरहेको र त्यसबाट सिर्जना हुनसक्ने राष्ट्रिय सुरक्षा चुनौतीहरूलाई सामना गर्न नेपाली सेना सदैव तयारी अवस्थामा रहेको बताए ।

यस्तै बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपाली सेनाका तर्फबाट प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा मन्त्रालयको तर्फबाट रक्षासचिव किरणराज शर्माबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षरसमेत भएको थियो ।

रक्षासचिव, जंगी अड्डाका पीएसओ रथी, चारवटै कमाण्डका कमाण्ड सेनापतिहरूलगायत विभिन्न विभाग, महानिर्देशनालय, कोर तथा निर्देशनालयका प्रमुखहरू तथा उपत्यकाभित्र अवस्थित बाहिनी अड्डाका बाहिनीपतिहरूको उपस्थिति रहेको उक्त दुई दिवसीय समन्वयात्मक बैठकमा नेपाली सेनाका विभाग, महानिर्देशनालय, कोर र निर्देशनालयका प्रमुखहरू तथा कमाण्ड सेनापतिहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवम् सुझावहरूसहितको प्रस्तुतीकरण प्रस्तुत गर्नेछन् ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रियापश्चात् प्राप्त हुने राय सुझावहरूले आगामी दिनहरूमा नेपाली सेनाको महत्त्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्‍याउने विश्वास नेपाली सेनाले लिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर