सेनासँग हतियार ‘पैंचाे’ माग्दै प्रहरी

नेपाल प्रहरीले आसन्न आम निर्वाचनमा खटिने अधिकृतहरुका लागि साना हतियार अपुग हुनेभएपछि सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता हुने) मा  हतियार मागेको छ ।

स्थानीय तह निर्वाचनमा समेत हतियार सापटी लिएर सुरक्षित निर्वाचन गराएकाे प्रहरीमा लामाे समयदेखि हतियार खरिद हुन् सकेकाे छैन् । यसपटक समेत खरिदकाे प्रक्रिया विभिन्न कारण देखाउँदै प्रहरी बिरुद्ध प्रचारबाजी गरिएकाे थियाे ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ, यो समाचार आजको गोरखापत्र दैनिकमा पत्रकार मित्र भण्डारीले लेखेका छन् ।

समाचारमा भनिए अनुसार निर्वाचन सुरक्षाका लागि कुन जिल्लामा कति हतियार आवश्यक छ भन्नेबारे यकिन गरी प्रहरी प्रधान कार्यालयले सेनाबाट लिने हतियार सिधै प्रदेश प्रहरी कार्यालयमार्फत उपलब्ध गराउने गरी समन्वय भइरहेको छ।

सेनाबाट हतियार लिन र फिर्ता गर्न सहज होस् भन्ने उद्देश्यले प्रदेश तहबाट लिने र बुझाउने गरी प्रस्ताव गरिएको प्रहरी मुख्यालयले जनाएको छ।

नेपाली सेनाका चारवटा कमान्ड मुख्यालय, बाहिनी, गण र गुल्ममा प्रयोग भइरहेका साना हतियार लिने तयारी गरिएको हो। आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा सम्पन्न गर्दा मतदान स्थल, मतदान केन्द्र र मतपेटिकाको सङ्ख्या वृद्धि गर्नुपर्छ। यस पटकको निर्वाचनमा झन्डै पाँच लाख नयाँ मतदाताको सङ्ख्यासमेत वृद्धि भएको छ।

आगामी निर्वाचनमा देशभर २२ हजार ५३४ मतदान केन्द्र रहने र त्यसको सुरक्षाका लागि ७१ हजार ६९३ प्रहरी र एक लाख २० हजार म्यादी प्रहरी परिचालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ। म्यादी प्रहरी भर्ना गर्दा पूर्वसुरक्षाकर्मीलाई प्राथमिता दिने तयारी गरिएको छ।

निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले एक हजार ३७८ वटा सानो सवारी साधन (पिकअप) सहित ११६ वटा भाडाका बस र गस्तीका लागि एक हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

निर्वाचन प्रयोजनका लागि ६८५ वटा विभिन्न प्रकारका सवारी साधन खरिदलगायत निर्वाचन सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले १५ अर्ब ९६ करोड रुपियाँ माग गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *