नेपाल प्रहरीमा ‘पुलिस ब्याटन’ को दौड सुरु

प्रहरी प्रधान कार्यालयले अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन थालेको छ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई प्रहरी दिवसका दिन पुरस्कृत गर्दै आएको छ। प्रहरी स्थापना दिवसको दिन पारेर यो पुरस्कार दिने गरिन्छ। र,  याे पुरस्कार साे कार्यालयका प्रमुखलाई प्रमुख अतिथि प्रधानमन्त्रीले प्रदान गर्ने परम्परा रहेकाे छ ।

यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन थालिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईले जानकारी दिए।

डीआईजी राईका अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेशका प्रदेश प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन हुनेछ।
शुक्रबार अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीसहितको प्रहरी अधिकृतको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको निरीक्षण गरेको छ।

निरक्षण/मूल्याकंनमा प्रहरी कार्यालयको साजसज्जादेखि समग्र व्यवस्थापन हेरिने डीआईजी राईले बताए।

‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्यविवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ,’ डीआईजी राईले पर्दाफासलाई भने।

उनका अनुसार आठवटै प्रहरी कार्यालयको सम्भव भएसम्म एआईजी सुवेदीले नै निरीक्षण गर्नेछन्। ‘सकेसम्म आठवटै कार्यालयको निरीक्षण उहाँ (एआईजी सुवेदी) ले नै गर्नहुन्छ। कुनै अवस्थामा उहाँले खटाएको टोलीले पनि निरीक्षण गर्न सक्नेछ,’ राईले भने।

यसरी प्रहरी कार्यालयको निरीक्षणपछि एआईजी सुवेदीको अध्यक्षतामा रहेको मूल्यांकन समितिले कार्यालयको मूल्यांकन गर्नेछ र सर्वोत्कृष्ट हुने एक प्रहरी कार्यालयका प्रमुखलाई प्रधानमन्त्रीबाट प्रहरी दिवसका दिन पुरस्कृत गरिनेछ। प्रहरीमा ‘पुलिस ब्याटल’ लाई उच्च मूल्यांकनसहितको पुरस्कार मानिन्छ ।

यस्तै सातवटै प्रदेशमा रहेका प्रहरी कार्यालय समेतले आफू मातहतका प्रहरी इकाइहरूको आन्तरिक मूल्यांकनका लागि समिति बनाएका छन् । यस वर्षका लागि पूर्ण शान्ति पुरस्कार  र उत्कृष्ट अनुसन्धानकर्ताकाे चयनसमेत हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर