तोकिएको भन्दा बढी ब्याज दिएपछि एनआईसी एशिया बैंकलाई बैंकर्स संघले सोध्यो स्पष्टीकरण

तोकिएको भन्दा बढी ब्याज दिएपछि बैकर्स संघले एनआईसी एशिया बैंकलाई स्पष्टीकरण सोधेको छ । संघले बिहीबार एनआईसी एशिया बैंकलाई पत्र पठाएर नियमविपरीत तोकिएको भन्दा बढी ब्याज दिएकोमा आपत्ति जनाएको हो ।

अहिले बैंकहरूले व्यक्तिगततर्फ एक वर्षको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागततर्फ ९.०३ प्रतिशत ब्याजदर दिने गर्छन् । रेमिट्यान्स खाताअन्तर्गत १२.०३ प्रतिशत ब्याजदर दिन पाउने व्यवस्था छ । बैंकर्स संघले नै भद्र सहमति गरेर ब्याजदर निर्धारण गरेको हो।

एनआईसी एशिया बैंकले केही व्यक्तिको निक्षेप १३.०३ प्रतिशतमा उठाएको प्रमाणसहितको उजुरी संघमा परेको थियो । संघले यसरी नियमविपरीत निक्षेप उठाउने हो भने सदस्य बैंकहरूले एनआईसीसँग अन्तरबैंक कारोबारसमेत नगर्ने चेतावनी दिएको छ ।

‘नियमविपरीत बढी ब्याजदर दिएर निक्षेप तानेर अस्वस्थ प्रतिस्पर्धा गर्ने बैंकसँग अरू सदस्य बैंकले अन्तर बैंकलगायत किन कारोबार गर्ने भन्दै पत्र पठाएका छौं,’ स्रोतले भन्यो ।

एनआईसी एशिया बैंकका सीईओ रोशन न्यौपाने बैंकर्स संघको कार्यसमिति सदस्यसमेत छन् । कार्यसमितिमै भएको बैंकले भद्र सहमति तोडेपछि एनआईसी एशियासँग अन्य बैंक रिसले चुर भएका छन् ।

यसअघि बैकर्स संघ र एनआईसी एशियाबीच २०७४ साल चैतमा पनि विवाद भएको थियो । त्यो बेला संघको पूर्ण बैठकले एनआईसी एशिया बैंकसँग कुनै पनि कारोबार नगर्ने निर्णय गरेको थियो ।

२०७४ सालको चैतमा संघ बचतमा ८ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ११ प्रतिशतभन्दा बढी ब्याज प्रदान नगर्ने सहमति गरेका थिए । तर, संघको निर्णयविपरीत एनआईसी एशिया बैंकले बचतमा १० प्रतिशत र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने योजना सार्वजनिक गरेको थियो । त्यो बेला संघको अध्यक्ष ज्ञानेन्द्र ढुंगाना थिए ।

एनआईसी एशियाले भद्र सहमतिविपरीत ब्याजदर प्रकाशित गरेपछि संघको बैठकमा केही सीईओले १८ प्रतिशतसम्ममा ब्याजदर दिएर निक्षेप उठाउने चेतावनी दिएका थिए । संघका सदस्यले अन्तरबैंक कारोबार नगर्नेसहित बहिष्कार गर्ने धम्की दिएपछि एनआईसी एशिया बैंक ब्याक भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर