ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न एमालेले बनायो ९ वटा समूह

नेकपा (एमाले) केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाछलफलकालागि बैठकले ९ वटा समूह बनाएको हो ।

बैठकका बारेमा सञ्चारकर्मीलाई जानकारी दिँदै एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदन र आगामी निर्वाचनको उम्मेदवारीका लागि मापदण्ड तथा प्रक्रियाको छलफल गरी ती समूहले शनिबार बस्ने बैठकमा प्रस्तुति राख्ने बताए ।

बैठकमा केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले सल्लाहकार परिषद्को, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले केन्द्रीय अनुशासन आयोगको, केन्द्रीय लेखा आयोगका अध्यक्ष पुष्प कँडेलले लेखा आयोगको र केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले निर्वाचन आयोगको प्रतिवेदन प्रस्तुत गरेका उनले जानकारी दिए ।

बैठकमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड र प्रक्रियाहरू प्रस्ताव भएको उनले बताए । त्यस्तै गत स्थानीय निर्वाचनमा पार्टीभित्र देखा परेका समस्याहरू छानबिनका लागि गठित कार्यदलका संयोजक पार्टी उपाध्यक्ष विष्णु पौडेलले कार्यदलका तर्फबाट बैठकलाई जानकारी गराएको पनि रिजालले बताए ।

बैठकले पार्टीको सदस्यता अभिलेखमा देखिएका प्राविधिक समस्या समाधान गर्न गाँठो फुकाउने काम गरेको उपप्रमुख रिजालको भनाइ छ । यसैगरी केन्द्रीय कमिटीको तेस्रो बैठकपछि पार्टीले गरेका निर्णयहरूको अनुमोदन पनि भएको जनाइएको छ । भारत प्रवासको पार्टी काम र प्रतिष्ठान सञ्चालनका नियमावली बनाउनका लागि संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदलहरू निर्माण गरिएको जानकारी गराइएको छ ।

बैठकमा नवनियुक्त केन्द्रीय कमिटी सदस्यहरूलाई शपथग्रहण गराइएको छ भने नवनियुक्त केन्द्रीय सदस्यहरूलाई जिम्मेवारी दिइएको छ । जसअनुसार जीवन गौतमलाई लुम्बिनी प्रदेश सहइन्चार्ज, अमृतलाल राजवंशीलाई झापा जिल्ला सहइन्चार्ज, धर्मदत्त देवकोटालाई बागमती प्रदेश सहइन्चार्ज र वृजेशकुमार गुप्तालाई लुम्बिनी प्रदेशको सहइन्चार्ज जिम्मेवारी दिइएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने उनले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर