निर्वाचन सुरक्षाका लागि तयार रहन प्रधानसेनापतिको निर्देशन

प्रधानसेनापति प्रभुराम शर्माले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि तयारी अवस्थामा रहन चारवटै कमाण्डका कमाण्ड सेनापतिलाई निर्देशन दिएका छन्।

शुक्रबार ‘कमाण्ड सेनापति समन्वयातत्मक बैठक’को समापन कार्यक्रममा बोल्दै प्रधानसेनापति शर्माले निर्वाचनलाई मध्यनजर गरी सरकारबाट प्राप्त हुनसक्ने जस्तोसुकै जिम्मेवारी वहन गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

साथै आफ्नो जिम्मेवारी क्षेत्रभित्र हुनसक्ने सुरक्षा चुनौतीहरूलाई सूक्ष्म अध्ययन तथा विश्लेषण गरी सोहीअनुसार अन्य सुरक्षा निकायसँगको सहकार्य र जानकारी आदानप्रदानलाई जोड दिँदै नेपाली सेनाले निर्वाह गर्नुपर्ने सम्भावित भूमिकाको लागि तयारी हालतमा रहन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य उत्कृष्ट ढंगले सम्पन्न गर्न उनले निर्देशन दिए।

प्रधानसेनापति शर्माले यथार्थपरक छलफलमा केन्द्रित रहेको उक्त समन्वयात्मक बैठक फलदायी रहेको विश्वास व्यक्त गर्दै नेपाली सेनाले सामूहिक स्वामित्व र सामूहिक निर्णयलाई निरन्तरता दिने बताए।

उनले नेपाली सेनाको पेशागत दक्षता अभिवृद्धि गर्न लडाइँ सञ्चारको विस्तृतीकरण र सबलीकरणमा जोड दिई आवश्यक तालिमलाई समायानुकूल आधुनिकीकरण गर्न साधन स्रोतको मितव्ययी व्यवस्थापन तथा सुनिश्चितता गरी समष्टिगत रूपमा एक पेशेवर सेनाको निर्माण गर्न सधैं प्रयत्नशील रहनुपर्ने तथ्यलाई प्रकाश पार्दै सकलदर्जाको अनुशासन एवं वेलफेयरलाई अझ सुदृढ गराउँदै लैजानुपर्ने आवश्यकता औंल्याए।

जंगी अड्डामा बिहीबारदेखि राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समीक्षा गरी उत्पन्न हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूमाथि सूक्ष्म विश्लेषणसहित सुरु भएको उक्त बैठकमा चारवटै कमाण्डका कमाण्ड सेनापति, जंगी अड्डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरूबाट विगतको कार्यको समीक्षा तथा वर्तमान गतिविधिहरू समेटिएको प्रस्तुतीकरण भएको थियो।

नियमित रूपमा सञ्चालन हुने यस प्रकारको उच्चस्तरीय समन्वयात्मक बैठकमा भएका प्रस्तुतीकरण र उठान भएका विषयवस्तुहरूमाथि भएको गहन छलफल तथा आपसी अन्तरक्रियाबाट प्राप्त भएका अमूल्य राय सुझावहरूले नेपाली सेनाको नीति निर्माण तथा भावी योजना तर्जुमा गर्न उपयुक्त दिशानिर्देश गर्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर