आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन र मोती जयन्ती

आज भाद्र कृष्ण औँसी अर्थात् कुशेऔँसी। नेपालमा मुख्य रुपमा तीन तरिकाले मनाउने गरिन्छ ।

देवकार्य र पितृकार्यका लागि वर्षभरि आवश्यक पर्ने कुश काटेर राख्ने परम्परा छ। त्यसैगरी बाबुको मुख हेर्ने र बुबा नहुनेहरुले पितृकार्य गर्छन । साहित्य क्षेत्रमा आज मोती दिवसको रुपमा मनाउने गरिन्छ ।

पुरोहितले मन्त्रोच्चारणपूर्वक काटको कुश यजमानका घरमा लग्ने परम्परा छ। यसरी काटिएका कुशलाई पवित्र स्थानमा राख्ने वा ढोकामाथि सिउरिने गरिन्छ। यसरी राखिएको कुशले वर्ष दिनभरि घरको रक्षा गर्छ भन्ने विश्वास गरिन्छ।

यसरी राखिएको कुश वर्षभरि पर्ने मांगलिक पितृकार्यलगायतमा प्रयोग गर्ने चलन छ। शास्त्रमा जुन दिन आवश्यक पर्छ त्यही दिन काटेर कुशको प्रयोग गर्नुपर्ने बताइएको छ।

सबै कहाँ नहुने कारणले कुशेऔँसीका दिन पुरोहितले कुश काटेर यजमानका घरमा लग्ने र वर्षभरि प्रयोग गर्ने चलन चलेको हो।

बुबाको मुख हेर्ने दिन

आज बुबाको मुख हेर्ने पनि गरिन्छ। छोराछोरीले खानेकुरा र लुगाफाटोसहित आफ्ना बुबाको मुख हेर्ने गर्छन्।

काठमाडौं उपत्यकाका नेवार समुदायमा चलेको आमाको मुख हेर्ने र बाबुको मुख हेर्ने चलन कालान्तरमा सबैले अपनाएको संस्कृतिविद् बताउँछन्।

अन्धकाररूपी संसारमा ज्ञान एवं कर्मको दिव्यज्योति प्रदान गरेर अघि बढ्न सिकाउने गुरुका रूपमा रहेका पितालाई मनपर्ने विभिन्न खानेकुरा, लत्ताकपडालगायत दिँदै सम्मान गरिन्छ ।

भाद्र कृष्ण कुसे औंसीमा बाबुको सम्मान गरिने परम्परा छ । बुबालाई पिता, बाबा, तात, ड्याडी, पापा शब्दले चिनिन्छ । यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुसेऔंसी पनि भनिन्छ । आमापछिको द्वितीय गुरुका रूपमा पितालाई शास्त्रले वर्णन गरेको छ ।
महत्वपूर्ण धार्मिक कार्य गर्नुअघि पनि पितृकै स्मरण गर्ने चलन छ । पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा शास्त्रमा उल्लेख छ ।

औंसीका दिन आफूलाई कर्म दिने मुख हेर्न छोराछोरी बुवा भएको ठाउँमा पुग्ने गरेका छन् । बुबालाई भेट्दा आफ्नो क्षमताअनुसार मिठाई, लड्डु तथा विभिन्न खाद्यपदार्थ खुवाउने चलन छ ।

पिता जीवित हुनेले मिठामिठा परिकार बनाएर खुवाउँछन् । लुगाफाटो तथा विविध उपहार दिएर पितालाई खुसी बनाउँछन् । विवाहित महिलाले माइतमा गएर बुबाबाट आर्शिवाद लिने चलन छ ।

औंसीका दिन बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गई तपर्ण तथा श्राद्ध गर्ने परम्परा छ । यसपटक अघिल्लो दिन शुक्रबारै औंसी तिथि परेकाले काठमाडौं, ललितपुर र आसपासका बासिन्दाले शुक्रबार गोकर्णमा गई श्राद्ध तथा तपर्ण गरेका छन् ।

उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास रहिआएको छ ।

गोर्कणमा श्राद्ध गर्नु भारत कासीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन् । चन्द्रमती, सूर्यमती र बाग्मतीको संगम त्रिवेणी तीर्थमा स्नान गरी विधिपूर्वक श्राद्ध र पिण्डदान गरी भगवान् गोकर्णेश्वर महादेव र हनुमान दर्शन गर्नाले पितृमुक्त हुन्छन् ।

पुराणमा उल्लेख भएअनुसार पिताको स्मरणमा मानसम्मान र मृतात्माको मंगल कामना गर्दै धुन्धुकारीजस्तो पुत्र होइन, गोकर्णजस्तो पितृको उद्धार गर्ने पुत्रको कामना गरिएको छ । औंसीका दिन बाबु नहुनेले ब्राह्मणलाई सिदा दान पनि गर्दै छन् ।

हिन्दू धर्म परम्परामा जल दान र अन्नदानको विशेष महत्व हुन्छ । पितृ औंसी तथा गोकर्ण औंसीका नामले समेत चिनिने यसदिन आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकोमा बाबुप्रति कृतज्ञता ज्ञापन गरी सम्मान गरे राम्रो फल मिल्ने विश्वास छ ।

मोती जयन्ती

आजै साहित्यकार मोतीराम भट्टको जन्म तथा स्मृती दिवसको रुपमा पनि मनाउने गरिन्छ ।

कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको सन्तानको रुपमा १९२३ भदौ २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।

उनको निधन पनि १९५३ कुशेऔँसीकै दिन भएको थियो । तीस वर्षको उमेरमा परलोक भएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्‍याएका थिए। नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए। नेपालमा छापाखाना भित्र्याउनेमा समेत भट्टकै योगदान छ।

युवाकवि भट्टले आदिकवि भानुभक्तले रचना गरेका रामायण विसं १९४१ मा छापेर सार्वजनिक गरेका थिए। भानुभक्तलाई चर्चामा ल्याउने काम भट्टले नै गरेका थिए । भट्टका ‘भानुभक्तको जीवन चरित्र’, ‘प्रियदर्शिका’ नाटक, ‘पिकदूत’ खण्डकाव्यलगायत कृति चर्चित छन् ।

शृङ्गारिक धाराका गजलकार भट्टले नेपाल र वनारसमा पनि मोती मण्डली बनाएर पद्मनाभ, काशीनाथ, चेतनाथ, तेजविलासलगायतलाई पनि साहित्यमा अघि बढाएको थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर