अछामकी वृद्ध महिलालाई कुटपिट गरेको भिडियो खिच्ने बालक सम्मानित

अछामकी एक वृद्ध महिलालाई कुटपिट गरेको भिडियो खिच्ने बालक सम्मानित भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–६ मा दुई जना महिलाले ५३ वर्षीया जयसरा न्यौपानेलाई कुटपिट गरिरहेको भिडियो खिच्ने पीडित महिलाको नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई प्रहरीले सम्मान गरेको हो।

सो स्थानमा घरभित्रै दुई महिलाले जयसरालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त भिडियो खिच्ने बालक दीपेन्द्रलाई  जिल्ला प्रहरी कार्यालय अछाममा आयोजित कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रणबहादुर रावलले फूलमाला लगाई प्रशंसापत्रसिहत सम्मान गरेका हुन्।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह विष्टले हजुरआमा जयसरालाई कुटपिट गर्ने उनकी बुहारी २५ वर्षीया धर्मा न्यौपाने र भदैनी बुहारी (भाइको छोराकी श्रीमती) ३२ वर्षीया देवीसरा न्यौपानेलाई नियन्त्रणमा लिइएको जानकारी दिए। सम्मानित बालक देवीसराकाे छोरा हुन्।

‘कुटपिटमा संलग्न दुई जना महिलालाई पक्राउ गरेर अमानवीय व्यवहार अन्तर्गतको मुद्दामा अनुसन्धान गरिरहेका छौं,’ विष्टले पर्दाफाससँग भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर