यस्तो छ एमालेको उम्मेदवार छनोट मापदण्ड

नेकपा (एमाले)ले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवारी यही भदौ २२ गते भित्र सिफारिस गरिसक्न पार्टीको सम्बन्धित निर्वाचन क्षेत्र समन्वय कमिटीलाई निर्देशन दिएको छ ।

शनिबार सम्पन्न पार्टी केन्द्रीय कमिटी बैठकले उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी केन्द्रीय कमिटीमा रहने गरी सो निर्देशन दिने निर्णय गरेको हो ।

सम्बन्धित प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीले प्रतिनिधि सभा र सम्बन्धित प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटीले सोही क्षेत्रको उम्मेदवार सिफारिस गर्न बैठकले निर्देशन दिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार एक जना महिला अनिवार्य रहनेगरी दुवै निर्वाचनका लागि ३ जना उम्मेदवार सिफारिस गर्नुपर्नेछ ।

एमालेले उम्मेदवार छनोटको मापदण्ड पनि तय गरेको छ । पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता, लोकप्रियता र विजयको सुनिश्चितता, पार्टीप्रतिको निष्ठा र आन्दोलनको योगदान, सन्तुलन र समावेशिता, निर्वाचन कानुनबमोजिमको योग्यता पुगेको व्यक्तिहरुलाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवार उठाउन सक्ने मापदण्ड तय गरिएको पनि प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए ।

एमालेले सिफारिस गरेका कुनै पनि उम्मेदवारहरूले पार्टीले अन्तिम निर्णय नगरेसम्म आफू उम्मेदवार भए भनेर कुनै पनि गतिविधि नगर्न पनि सचेत गराएको छ ।

एमालेले निर्वाचन परिचालनमा युवाहरूलाई समेट्ने गरी १५ देखि २५ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय पनि गरेको छ । अनेरास्ववियु, राष्ट्रिय युवा संघ, नेपाल, खेलकुद महासंघका आबद्ध युवाहरूलाई समेटेर निर्वाचन परिचालन कमिटी बनाउने निर्णय पनि बैठकले गरेको एमालेले जनाएको छ । बैठकले हरेक पार्टी सदस्यलाई २ भोट थप्न र ५ भोट संरक्षण गर्ने नीति आम रुपमा अघि बढाउने निर्णय पनि गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले बताए ।

गुरुङका अनुसार बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार निर्वाचन आयोगमा सिफारिस गर्ने अख्तियार पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय पनि गरेको छ । बैठकमा पार्टीका उपाध्यक्ष विष्णु पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन छानवीन समितिले आफ्नो कामबारे बैठकलाई जानकारी गराएको थियो । त्यसैगरी पार्टीको केन्द्रिय अनुशासन आयोग, केन्द्रीय सल्लाहकार परिषद, लेखा आयोगले पनि बैठकमा आ–आफ्नो कामको प्रगतिविवरण बैठकमा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर