राष्ट्रिय सभाबाट नागरिकता विधेयक पारित गर्न प्रक्रिया अघि बढाइँदै

राष्ट्रिय सभाको बैठक आज बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त व्यहोरा जानकारी गराउने कार्यसूची छ।

सम्भावित कार्यसूचीअनुसार बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको ‘नेपाल नागरिकता (पहिलो संशोधन विधेयक २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी गराउनेछन् ।

संघीय संसद्का दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो । तर, राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन् ।

फिर्ता भएको विधेयक प्रतिनिधि सभाबाट २ भदौमा हुबहु पारित भइसकेको छ । २ भदौमै प्रतिनिधि सभाले पारित गरेको विधेयकबारे १० दिन पछाडि राष्ट्रिय सभामा जानकारी गराउन लागिएको हो ।

आइतबार राष्ट्रिय सभामा फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल हुनेछ । राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउन सक्छ ।

विधेयक पुनः संघीय संसद्बाट पारित भएर गएपछि राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानतः फेरि पारित भएर गएको विधेयक फिर्ता गर्न सक्ने अधिकार राष्ट्रपतिलाई छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *