खोटाङबाट प्रतिनिधि सभामा मन्त्री राजन राईलाई उम्मेदवार बनाउन एकीकृत समाजवादीको सिफारिस

सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी)ले एकमात्र संघीय निर्वाचन क्षेत्र रहेको खोटाङबाट प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईलाई आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनाउन सिफारिस गरेको छ।

पार्टीको जिल्ला कमिटीले पार्टी पोलिटब्यूरो सदस्यसमेत रहेका राईलाई प्रतिनिधि सभा प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा अघि सारेको हो।

मन्त्री राई खोटाङको केपिलासगढी गाउँपालिकाका बासिन्दा हुन्। उनी २०७४ को निर्वाचनमा खोटाङ प्रदेश सभा (क) बाट नेकपा एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । एमाले फुटेपछि उनी माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका हुन्। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तारका क्रममा २०७८ माघ २३ मा राजनलाई सामाजिक विकासमन्त्रीको जिम्मेवारी दिएका थिए।

यस्तै पार्टीले प्रतिनिधि सभा समानुपातिकतर्फ जलशेर राई र संगीता राईको नाम सिफारिस गरेकाे छ।

यस्तै प्रदेशसभा (क)मा प्रत्यक्षतर्फ वीरबलकाजी राई, उदयबहादुर कार्की, राजन आचार्य, भीम राई (बुइपा), भीम राई (बाम्राङ), विष्णु दाहाल, तेजबहादुर राई र समानुपातिकमा रमिला गुरुङको नाम सिफारिस भएको छ।

प्रदेशसभा (ख)मा प्रत्यक्षतर्फ बबी चाम्लिङ, श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर