सेनाको तलब र पेन्सन चाँडै बैंक खातामा पुग्छ : सैनिक प्रवक्ता

चाडपर्वको मुखमा नेपाली सेनाका बहालवाला र पेन्सनधारी कर्मचारीले तलब र पेन्सन पाउन ढिला भइरहेको व्यापक गुनासो बढेका बेला सैनिक मुख्यालयले उनीहरूको तलब र पेन्सन चाँडै बैंक खातामा जम्मा हुने जनाएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालले सैनिक कर्मचारीको साउन महिनाको तलब र पेन्सन चाँडै बैंक खातामा जम्मा हुने बताएका हुन्।

पर्दाफाससँगको कुराकानीमा सिल्वालले भने, ‘नयाँ आर्थिक वर्षको सुरुआती महिना भएकाले अर्थ मन्त्रालयबाटै रकम आउन ढिला भइरहेको छ। हामी जतिसक्दो चाँडो सैनिक कर्मचारीको तलब र पेन्सन उपलब्ध गराउन कोसिस गरिरहेका छौं।’ सरकारले चालु आर्थिक वर्षको बजेटमा साउन १ गतदेखि लागु हुने गरी १५ प्रतिशतले राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि गरेको थियो।

सुदूरपश्चिममा महान् पर्वको रूपमा मनाइने गौरा पर्व नजिकिँदै गर्दा सेनाका बहालवाला र पेन्सनधारी कर्मचारीले तलब र पेन्सन नपाउँदा चाडपर्वको मुखमा समस्यामा परेको बताइरहेका छन्।

यस वर्ष गौरा पर्व भदौ १८ गते परेको छ। पर्व आउन केही दिनमात्र बाँकी रहँदा पनि तलब र पेन्सन नपाउँदा पर्वको सरजाम गर्न नपाएकाले उल्लासमय पर्व नै खल्लो हुने हो कि भन्ने डर पैदा भएको उनीहरूको भनाइ छ।

फेसबुकमा एक जना सेनाका कर्मचारीले लेखेका छन्, ‘श्रीमतीले निन्याउरो मुख लाउँदै भन्छिन्– बूढा ! गौरा नजिकै आयो । हजुरको तलब आ’को छैन । छोराछोरीले सारै सताइसके । म कसरी सम्झाऊँ ? मान्दै मान्दैनन् । कहिले आउछ हजुरको तलब ? म भन्छु– आउँछ चाँडै, प्रतीक्षा गर ।’

यस्तै हरितालिका तीजसँगै बहालवाला र पेन्सनधारी सैनिक कर्मचारीहरुकाे सन्ततीकाे बिद्यालय शुल्क,  दैनिक घर खर्च लगायतका विषयमा समेत समस्या भइरहेकाे जनाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *