उपत्यका प्रहरी प्रमुख एआईजी धानुकले गरे मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुकले मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौता गरेका छन्।

संगठन प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंह र एआईजी धानुकबीच गत साउन २५ गते वार्षिक कार्यसम्पादन सम्झौता भएअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रममा एआईजी धानुक र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक श्यामलाल ज्ञवाली, काठमाडांै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख भरतबहादुर बोहरा, जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख यज्ञविनोद पोखरेल र जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीबीच हस्ताक्षर भएको थियो।

एआईजी धानुकले सम्झौतापत्रमा उल्लेख भएका कार्यहरू अक्षरस पालना गरी कार्यान्वयन गर्न मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिँदै आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरीवेक्षण गर्नसमेत उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिए।

अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्यसम्पादन करार उपलब्धिमूलक हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *