प्रचण्डको नयाँ गठबन्धनको चेतावनीले राजनीति तरंगित, सिट बाँडफाँटमा हाबी हुने योजना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिट बाँडफाँटको विषयमा नेपाली कांग्रेस लचिलो नबने नयाँ गठबन्धनको चेतावनीले राजनीति तरंगित बनेकाे छ ।

ललितपुरमा आइतबार बागमती प्रदेशका जनप्रतिनिधि तथा प्रदेश पदाधिकारीहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सत्तारूढ गठबन्धनको मुख्य घटक कांग्रेसले वर्तमान परिस्थिति नबुझे, शक्तिको सही मूल्याकंन नगरे अर्को गठबन्धन बन्ने बताएका थिए ।

कार्यक्रममा प्रचण्डले कांग्रेसभित्र विभिन्न विचार आइरहेकाले विकल्पहरू के के हुनसक्छ भनेर सोच्नुपर्ने बताएका थिए । बैठकमा सहभागी माओवादी नेता अनिल शर्माले पहिलो प्रयास अहिलेकै गठबन्धनमा रहेको तर सिट बाँडफाँटको विषयमा कांग्रेसले शक्तिको पहिचान राम्रोसँग नगरे नयाँ गठबन्धन बन्न सक्ने बताएका थिए । कार्यक्रममा प्रचण्डले एमाले बाहेकको अन्य वामपन्थी राजनीतिक दलहरूको नयाँ गठबन्धन हुने बताएका थिए ।

‘अध्यक्ष प्रचण्डले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा अहिलेको पाँचदलीय सत्तारूढ गठबन्धन एकढिक्का भएर जान्छ भन्नुभएको थियो,’ उनले थपे, ‘कांग्रेसले मानेन, गठबन्धनमा शक्तिको सही पहिचान गर्न मन गरेन भने हामीले वाम गठबन्धनलाई अगाडि बढाएर राम्रै परिणाम ल्याउन सक्छौं भन्नुभएको थियो । सत्तारूढ गठबन्धनभित्रका वामपन्थी दलहरू मिल्दा पनि हाम्रो नराम्रो परिणाम आउँदैन भन्ने उहाँको कुरा थियो ।’ सत्तारूढ गठबन्धन एकढिक्का भएर जानेमा प्रचण्डले विश्वास राखेको पनि शर्माले जानकारी दिए ।

प्रचण्डले एमालेबाहेकको गठबन्धनको कुरा गरे पनि चुनावी परिणामको दृष्टिले परिणाममुखी हुने देखिँदैन ।

प्रचण्डको अस्थिर चरित्रलाई बुझेका धेरैले २०७४ सालको आमनिर्वाचनमा बनेको गठबन्धनलाई स्मरण गर्न पुगेका छन् ।

त्यस समयमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नै थिए र सत्ता साझेदार दलको रूपमा माओवादी केन्द्र रहेको थियो । कांग्रेससँग चुनावी तालमेलको विषयमा छलफल चलिरहँदै दाहालले एमालेसँग चुनावी गठबन्धन गर्न पुगेका थिए । बीचमा सत्ता गठबन्धन बनेको थियो । त्यस समयमा सिट बाँडफाँटको विषयमा कांग्रेस सकारात्मक थिएन । माओवादीले कांग्रेससँग देशव्यापी गठबन्धन गर्न चाहेको थियो । तर, कांग्रेस खासखास स्थानमा मात्रै तालमेलको पक्षमा देखिएपछि प्रचण्डले रातारात एमालेसँग गठबन्धन गर्न पुगेका थिए ।

तर सिट बाँडफाँटका लागि पाँच दलले गठन गरेको कार्यदलमा यस विषयले गहन रूपमा प्रवेश नै पाएको छैन । साउन मसान्तभित्रै बाँडफाँटको विषयमा टुंग्याउने भने पनि सोमबार बिहानसम्म त्यसमा ठोस प्रगति भएको छैन ।

माओवादी र एकीकृत समाजवादी भने तत्कालै बाँडफाँटको विषयमा टुंगाे लगाउने पक्षमा रहेका छन् ।

‘कुन क्षेत्र कसले लिने भनेर अहिले निर्णय गर्न कठिनाइ भए पनि प्रतिनिधि सभा र प्रदेश सभामा कुन दलले कति स्थान प्राप्त गर्ने हाे त्यो निश्चित गर्नुपर्ने तत्कालै निर्णय गर्न र सहमति गर्नु आवश्यक भइसकेको छ,’ माओवादी केन्द्रका एक नेताले भने ।

सत्तारूढ गठबन्धनभित्र अहिले पनि सबैभन्दा कठिन विषयमा रहेको सिटको बाँडफाँटको विषय टुंगिन सकेकाे छैन।  दलहरूले आ-आफ्नो दाबी छाडेका छैनन् । गठबन्धनभित्रको प्रत्यक्षतर्फको १ सय ६५ भन्दा निकै बढी संख्या हो । गठबन्धनमा कांग्रेसले १००, माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २५ र राजमोले २सिट दाबी गरेको छ ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सिट बाँडफाँटका लागि लचिलो देखिए पनि पार्टीभित्र शसक्त रहेको शेखर कोइराला पक्षले भने अडानलाई कडा बनाइराखेको छ । कोइरालाले कांग्रेसले कम्तीमा पनि १०० स्थान प्राप्त गर्नुपर्ने बताउँदै आएका छन् । कोइरालाको समूहबाट पार्टी महाधिवेशनमा महामन्त्री जितेका गगन थापाले पनि कम्तीमा १०० स्थान कांग्रेसका लागि आवश्यक भएको बताएका छन् ।

अर्को गठबन्धनभित्रको अन्य दलले पनि बढीभन्दा बढी स्थानको दाबी गर्दै आएका छन् । जसलाई संगठित बनाएर प्रचण्डले कांग्रेससँग सिट बार्गेनिङ गरिरहेका छन् । उनीहरूले २०७४ सालमा जुन दलले जितेको हो सो निर्वाचन क्षेत्र त्यही दललाई छाडेर एमालेले जितेको ठाउँमा मात्रै भागबण्डा गर्नुपर्ने बताइरहेका छन् । तर, कांग्रेस त्यसका लागि सकारात्मक छैन ।

आगामी चुनावमा दोस्रो राजनीतिक दल बन्ने दाबी गरेका माओवादी अध्यक्ष प्रचण्डले कांग्रेसलाई बढी स्थानमा जिताएर आफूलाई कमजोर बनाउन चाहेका छैनन् । प्रचण्डले आफ्नो समर्थनबिना कुनै पनि दललेआगामी ५ वर्ष सरकार बनाउन नसक्ने अवस्था सिर्जना गर्न चाहेका छन् ।

स्थानीय चुनावको परिणामले  उत्साहित बनेका प्रचण्डसँग चुनावी गठबन्धन गर्न एमालेभित्रको एउटा समूह सक्रियतापूर्वक लागेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुनसँग उनीहरूको समर्थन रहेको छ । अनौपचारिक रूपमा भएको छलफलमा एमालेले ४० प्रतिशत स्थान र प्रधानमन्त्रीको  कार्यकाल बाँडफाँटको प्रस्ताव अघि सारेकाे छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर