भारतीय सेनाकाे नेतृत्वमा आएकाे टाेली सैनिक मुख्यालयकाे भ्रमणमा

भारतीय सेनाकाे नेतृवमा पाँच दिने भ्रमणका लागि नेपाल आएको  प्रतिनिधिमण्डलले सैनिक मुख्यालय जंगी अड्डाकाे भ्रमण गरेकाे छ। आइतबार नेपाल आएको नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितकाे ३१ सदस्यीय भ्रमणदलले सोमबार जंगी अड्डाकाे भ्रमण गरेकाे हाे।

भ्रमणका क्रममा टाेलीले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेकाे छ। भेटमा दुई देशका सैनिकबीचको सहकार्य र हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।

भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू रहेका छन् ।

उनीहरूले भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनका साथै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ।

भ्रमणदलले पाँच दिवसीय नेपाल भ्रमणको क्रममा सोमबार नै प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेट गर्नेछन्।  यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।

साथै भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ । छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् वृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर