प्रधानमन्त्री देउवासँग भारतीय सेनाको नेतृत्वमा नेपाल आएको भ्रमणदलकाे शिष्टाचार भेट

भारतीय सेनाको नेतृवमा पाँच दिने भ्रमणका लागि नेपाल आएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेको छ।

आइतबार नेपाल आएको नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितको ३१ सदस्यीय भ्रमणदलले सोमबार रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भेट गरेको हो।

भ्रमणदललले सोमबार नै अर्थमन्त्री जनार्दन शर्मासँग पनि अर्थ मन्त्रालयमा भेटवार्ता गरेको छ।

प्रधानमन्त्री र अर्थमन्त्रीसँगको भेटअघि भ्रमणदलले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण गरेको थियो। सो क्रममा भ्रमणदलले प्रधानसेनापति प्रभुराम शर्मासँग भेट गरेको छ। भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयहरूमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भए ।

साथै उनीहरूले प्रधानसेनापति प्रभुराम शर्मासँग जंगी अड्डामा भेटवार्तासमेत गरे । भेटमा दुई देशका सैनिकबीचको सहकार्य र हितका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।

भम्रणदलको नेतृत्व एयर भाइस मार्शल तेजवीर सिंहले गरेका छन्। भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू रहेका छन् ।

उनीहरूले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। यस्तै मंगलबार पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम छ।

भदौ १६ गतेसम्म नेपाल भ्रमणका क्रममा भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कार्यक्रम छ।

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ । छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् वृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर