बालेनलाई अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो ।

‘निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणसहित यो आदेश प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र आफैँ वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नू,’ सर्वोच्चको आदेशमा भनिएको छ ।

नर्भिक अस्पतालले सार्वजनिक जग्गा मिचेर निर्माण गरेका भनिएका संरचना हटाउने महानगरपालिकाको कदमविरुद्ध दायर गरिएको रिट निवेदनको विषयमा दिएको अभिव्यक्तिलाई लिएर साहविरुद्ध अदालतको अवहेलनाको मुद्दा दर्ता भएको थियो । अधिवक्ता दीपकराज जोशीले साहविरुद्ध उक्त अवहेलनाको मुद्दा दर्ता गरेका थिए ।

नर्भिक अस्पताल पक्षबाट दायर भएको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अस्पतालले निर्माण गरेका संरचना तत्काल नहटाउन अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

One thought on “बालेनलाई अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्चको आदेश

  1. नेपाल‌मा जनतालाई सुविधा हुने खालको काम गर्यो भने मन्त्रीदेखि अदालतसम्मले अनाहक र अनावश्यक झन्झटमा पारेर काम गर्नै दिदैनन, यस्ताहरूलाई आउने निर्वाचनमा भोटबाटै, चुनावबाटै छुट्याउन सके नेपालमा विकास गर्न चाहनेले ढुक्कले देश र जनताको विकास गर्न सक्थे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *