पशुपतिको मूल मन्दिरमा तस्बिर खिचेमा जरिवाना

हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ।

पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ। पछिल्लो समय सबैका हातमा मोबाइल फोन हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउनेक्रम बढ्न थालेपछि कोषले यस्तो निर्णय गरेको हो।

गर्भगृहको तस्बिर खिचेमा २ हजार १०० , मुख्य मन्दिरको तस्बिर खिचेमा १ हजार १०० र मूल मन्दिर परिसरको तस्बिर खिचेमा ५ सय जरिवाना गर्न लागिएको हो।

पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारी समूहले सूक्ष्म अनुगमन गर्न लागेको जानकारीसमेत उनले दिए ।

कोषले तीजका दिन  भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ। पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ।

दर्शनार्थी बिरामी हुन सक्ने भएकाले मूल मन्दिर क्षेत्रमै नेपाली सेनाले स्वास्थ्य शिविर राख्ने भएको छ। पशुपति क्षेत्रको सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयोजनमा गर्ने गरी व्यवस्था मिलाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर