निर्वाचन आचारसंहिता : जितेपछि भोजभतेर गर्न नपाइने

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता सार्वजनिक गरेको छ। आयोगले आचारसंहिता तयार गरी सोमबार राजपत्रमा प्रकाशित गरेको हो। आचारसंहितामा दल, उम्मेदवार, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारी, कर्मचारी, सञ्चारमाध्यम र विभिन्न निकायले पालना गर्नुपर्ने दायित्व निर्धारण गरिएको छ ।

आचारसंहिताअनुसार निर्वाचन प्रचारप्रसारमा दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिह्न अंकित सामग्री प्रयोगमा रोक लगाइएको छ।
आयोगले जुुलुस वा आमसभामा भाग लिने वा प्रचार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित कुनै पनि प्रकारका सामग्री प्रयोग गर्न नपाइने जनाएको छ।

यस्तै निर्वाचन प्रचारप्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, उम्मदेवारले मनोनयन दर्ता गर्दा अनुमानित निर्वाचन खर्च र सोको स्रोत खुलाउनुपर्ने आचारसंहितामा उल्लेख छ।

निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचारप्रसारका लागि घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित पच्चीस जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने आचारसंहितामा उल्लेख छ।

निर्वाचन प्रचारप्रसारको लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले सात दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने छ।

प्रचाप्रसारका कार्यक्रम उम्मेदवारको अन्तिम नामावाली प्रकाशन भएपछि निर्वाचनको सत्र दिनअघिबाट मात्रै बिहान सात बजेदेखि बेलुका सात बजेसम्म गर्न पाइने छ भने निर्वाचनमा विजयी उम्मेदवारले भोजभतेर, नगद वा जिन्सी वितरण गर्न पाउने छैनन्।

आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयमुक्त र पारदर्शी वातावरणमा सम्पन्न गर्नका लागि आयोगले सामान्यतः निर्वाचन कार्यक्रमअन्तर्गत उम्मेदवारी मनोनयन हुनुपूर्व आचारसंहिता जारी गर्ने गरेको छ।

निर्वाचनमा आगामी असाज २ गते सामानुपातिकतर्फको बन्द सूची पेस गर्ने कार्यसूची रहेको छ।

हेर्नुहोस् निर्वाचन आचारसंहिताको पूर्णपाठ :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर