प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट, सञ्चारका कानुन छिटो टुङ्ग्याउन माग

नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ ।

महासङ्घका पदाधिकारीले मंगबालर प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन सञ्चारसम्बन्धी ती कानुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासङ्घले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएको भन्दै महासङ्घले चिन्ता प्रकट गरेको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले महासङ्घले उठाएका र राखेका मागहरूलाई सकारात्मकरूपमा लिई तत्काल टुङ्गोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेलिफोनमार्फत निर्देशन दिएका थिए ।

भेटमा महासङ्घका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोशन पुरी सहभागी थिए । महासङ्घले प्रतिनिधिसभा अवधि समाप्त हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुङ्गोमा पुर्‍याउन सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर