जसपा खोटाङमा किन बढ्दैछ विवाद?

आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ। चुनावको मिति नजिकिँदै गर्दा विगतका आन्तरिक तिक्ततासमेत बिर्सेर दलका नेता कार्यकर्ताहरू एकताबाद्ध भई चुनावको तयारीमा लागिरहेका छन्। यहीबेला जनता समाजवादी पार्टी खोटाङमा भने विवाद चुलिएको छ। पार्टीको जिल्ला समन्वय समिति गठनको विषयलाई लिएर विवाद उत्पन्न भएकाे हाे।

सो विषयमा असन्तुष्ट नेता कार्यकर्ताहरूले सामूहिक राजानीमा नै घोषणा गरेका छन्। जिल्ला सहसचिव वीरेन्द्र दर्नाल, सचिवालय सदस्यहरू रबिन खम्बू, गुरुराज राई, गजेन्द्र राई, अग्निप्रसाद राई, डिल्लीराज राई, जिल्ला सदस्य सौराज राईलगायत १७ जना नेता कार्यकर्ताले सामूहिक राजीनामाको घोषणा गरेका हुन्।

तत्कालीन संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा त्यागेर नयाँ पार्टी (नेपाल समाजवादी पार्टी) गठन गरेपछि जिल्लामा तत्कालीन पार्टी अध्यक्ष टंक थापासहितका नेताले पार्टी छाडेका थिए। सोपछि आइतबार प्रदेश कमिटीको सिफारिसमा जिल्ला समन्वय समितिको तदर्थ समिति गठन गरिएको हो। प्रदेशका मुख्य सचिव प्रभुराम श्रेष्ठको सिफारिसमा उपाध्यक्ष पूर्णराज राई (पीके खम्बू)को अध्यक्षतामा ८७ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। पार्टीको विधि र विधान मिचेर जिल्ला समन्वय समिति गठन गरिएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले आपत्ति जनाएका छन्।

असन्तुष्ट पक्षले प्रदेश मुख्य सचिव श्रेष्ठले गठन गरी पठाएको समिति तत्काल खारेज गरेर पार्टीको विधि, विधानबमोजिम समिति गठनका लागि जिल्ला भेलाको माग गरेको छ। साथै प्रदेश सचिवले गठन गरेको कुनै पनि समितिमा नरहने गरी सामूहिक राजीनामा घोषणा गरिएको छ।

‘विधि, विधान मिचेर गठन गरिएको समिति हामीलाई मान्य छैन’ सचिवालय सदस्य खम्बूले पर्दाफाससँग भने, ‘हामी त्यसमा रहदैनौं। विधि, विधानबमोजिम समिति पुनर्गठनका लागि जिल्ला भेलाको माग गरेका छौं।’

जसपाको केन्द्रीय समिति, प्रदेश समिति र किरात राष्ट्रिय समितिलाई बोधार्थ राखेर लेखिएको पत्रमा प्रदेश मुख्य सचिव श्रेष्ठले पार्टीको हितविपरीत प्रदेश समितिको नाम दुरुपयोग गरी जिल्ला समितिको अधिकार हस्तक्षेप गर्दै ठाडो आदेशको रूपमा समिति गठन गरिएको आरोप लगाइएको छ।

‘पार्टीमा बढ्दो अधिनायकवाद, परिवारवाद तथा आसेपासेलाई काखी च्याप्ने राजनीतिक संस्कारको घोर भर्त्सना गर्दछौं,’ पत्रमा उल्लेख छ।

यता नवगठित जसपा जिल्ला समन्वय समितिका अध्यक्ष पीके खम्बूले पार्टीभित्र देखिएको विवाद समाधानका लागि द्विपक्षीय बैठक राखेर छलफल गर्ने तयारी भइरहेको बताए।

‘तत्कालीन पार्टी अध्यक्षले पार्टी छाडेपछि पदाधिकारीवहीन बनेको समिति गठनका लागि प्रदेश समितिमा पत्र पठाएका थियौं,’ उनले भने, ‘प्रदेशबाट अधिवेशन गर्न निर्देशन आउला भन्ने थियो। तर, तदर्थ समिति गठनको निर्देशनपछि पार्टीभित्र भदौ १०, ११ र १२ गते छलफल गरेर नै समन्वय समितिको पदाधिकारी टुंगो लगाइएको हो।’

उनले पदाधिकारीमा दाबी गरेका केहीले पद नपाएपछि असन्तुष्टि व्यक्त गरेको बताए। ‘दुवै पक्षबीच चाँडै बैठक राखेर छलफल गर्छौं। आशा छ, विवाद समाधान हुन्छ। पत्रमा १७ जनाको नाम लेखिए पनि आधिकारिक रूपमा तीन/चार जनाको मात्रै असन्तुष्टि हो,’ उनले भने।

समन्वय समिति गठनप्रति जसपाको असन्तुष्ट पक्षको पत्र:-

 

समन्वय समिति गठन र उम्मेदवार सिफारिसबारे जसपाको विज्ञप्ति:-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर