बुटवलमा विद्यार्थीमाथि शिक्षकको निर्घात कुटपिट, परिवारले विद्यालयमा सोधपुछ गर्दा ज्यान मार्ने धम्की

पछिल्लो समय विद्यालयमा शिक्षकहरूले विद्यार्थी कुटपिट गरेका घटना बढ्दो छ । त्यस्तै घटना बुटवलको दीप बोर्डिङ हाइ स्कुलमा सोमबार घटेको छ । शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका हुन् । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ घर भएका जेनित रायमाझीलाई सोही विद्यालयका शिक्षक एकराज गुरागाईंले निर्घात कुटपिट गरेर घाइते बनाएका हुन् ।

यस विषयमा अभिभावकले मंगलबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको कार्यालय बुटवलमो पत्रकार सम्मेलन आयोजना गरेका छन् । पत्रकार सम्मेलनमा बोल्दै पीडित विद्यार्थी जेनितले भने, ‘क्लास चलिरहेको बेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यति मात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर बोलाउनु भयो । म सर कहाँ गएँ र भनेँ– सर ! हाँसेकोमा गल्ती भयो । माफी पाऊँ । तर, सरले किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटकपटक गरी मलाई हानिरहनुभयो । जुन कुटपिटले म घाइते बन्न पुगेँ । एकछिनसम्म कान बन्द भयो, अचेत जस्तै भएँ । अहिले पनि म त्यही पिटाइले गर्दा बेलाबेलामा झस्किरहन्छु ।’

कुटपिट भएका विद्यार्थी जेनित घर गएपछि उनकी आमा चन्दा रायमाझीले फोन गरेर विद्यालयका प्राचार्य टीकाराम न्यौपानेलाई कुटपिट बारेमा सोधपुछ गर्दा उल्टै प्राचार्य न्यौपानेले ‘तँ को होस् ? तेरो हैसियत के हो ? मसँग बोल्ने तमिज यही हो ?’ भन्दै थर्काएको पीडित विद्यार्थीकी आमा चन्दाले पत्रकार सम्मेलनमा रुँदै बताइन् ।

पीडित विद्यार्थीका बुबा डीबी रायमाझीले विद्यार्थीलाई कुटपिट र यातना दिएर गर्ने व्यवहार दीप बोर्डिङ स्कुलको नयाँ नभएको बताए । उनले आफ्नै छोरालाई निर्घात कुटपिट गरेको बारेमा कुराकानी गर्दा ४/५ जनाले फोन गरी ज्यान मार्ने धम्की दिएपछि बाध्य भएर पत्रकार सम्मेलन गरेको बताए ।

‘अब छोराले त्यो स्कुलमा पढ्न जादिनँ भन्छ, छोरा कक्षा १० मा अध्ययन गर्दैछ । स्कुलका कारणले मेरो छोराको पढाइ बिग्रिने भयो । अब यसको जिम्मेवारी कसले लिने ? ज्यान मार्ने धम्की दिनेजस्ता कार्यको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

रायमाझीले ज्यान मार्ने धम्की नआएको भए, स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भए पत्रकार सम्मेलन गर्नुनपर्ने बताए । ‘हाम्रो माग भनेको कुटपिट गर्ने शिक्षकमाथि कारबाही होस् भन्ने हो, अरू केही छैन,’ उनले भने ।
विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थी र शिक्षकमाथि तानाशाह शैली चलाउँदै आएको धेरै तथ्यहरू बाहिर आउन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० वर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने बताए । उनले दीप बोर्डिङले विद्यार्थीमाथि गरेको दुर्व्यवहार निन्दनीय भएको बताए । ‘स्कुल मुस्कान संस्कारसहितको अध्यापन गर्ने ठाउँ हो । दण्ड दिने नियम कहीँकतै छैन,’ उनले भने ।
उनले विद्यार्थीले गल्ती गरेमा एक पटक अभिभावकलाई सचेत गराएमा विद्यार्थीका अनैतिक बानी व्यवहार सुुधार्न सकिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर