चाडबाडकेन्द्रित सुरक्षा योजना बनाएर काम गर्न मातहतका कार्यालय प्रमुखलाई निमित्त आईजीपी थापाको निर्देशन

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह अमेरिकामा हुने प्रहरी प्रमुखहरूको सम्मेलनमा भाग लिन गएपछि निमित्त आईजीपीको जिम्मेवारी पाएका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाले अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्राथमिकतामा राखी चाडबाकेन्द्रित सुरक्षा योजना बनाएर काम गर्न मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।

मंगलबार भर्चुअल रूपमा आयोजित भिडियो कन्फ्रेन्समार्फत थापाले प्रदेश प्रहरी प्रमुख, ब्यूरो प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुख र प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई उक्त निर्देशन दिएका हुन् ।

प्रविधिजन्य तथा आर्थिक अपराधको अनुसन्धानमा अझ बढी संवेदनशील हुनुपर्ने उल्लेख गर्दै आगामी दिनमा आउन सक्ने चुनौतीहरूको विश्लेषण गरी सोहीअनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

निमित्त प्रहरी महानिरीक्षक थापाले चाडबाडको बेलामा हुन सक्ने सडक दुर्घटना न्यूनीकरणका लागि सरोकारवाला निकायसँग आवश्यक समन्वय एवं सहकार्य गरी अगाडि बढ्नसमेत निर्देशन दिए । आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित तवरले सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्नसमेत उनले निर्देशन दिए ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बीसी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब महानिरीक्षक श्याम ज्ञवाली, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक मीरा चौधरी, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक किरण राणालगायतका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *