सञ्चार कानुनको टुङ्गो लगाउन प्रधानमन्त्रीलाई पत्रकार महासंघको ध्यानाकर्षण

प्रतिनिधिसभाको ५ वर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ । मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले मंगलबार आग्रह गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।
अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानुनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ ।
भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निर्देशन दिएका थिए ।
भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरी सहभागी थियो ।
महासंघले प्रतिनिधिसभा भंग हुनुअगावै सञ्चारसम्बन्धी कानुनका विषयलाई टुंगोमा पुर्‍याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *