कुलमानले उपत्यकामा माओवादीको पक्षमा ‘सेन्टिमेन्ट’ ल्याउन सक्लान् ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार राजधानीमा आयोजित कार्यक्रममा अहिलेको तरिकाले उपत्यकामा माओवादीको प्रभाव विस्तार नहुने भन्दै नयाँ ढंगले जाने बारेमा सोचिरहेको बताएका थिए । 

प्रभाव विस्तारका लागि प्रचण्डले त्यसका लागि दुई उपाय अघि सारेका थिए । एउटा उपत्यका हेर्ने गरी छुट्टै केन्द्रीय कमाण्ड निर्माण गर्ने । जसको नेतृत्व पदाधिकारी तहको नेताले गर्नेछ । अर्को समाजमा लोकप्रिय रहेको व्यक्तिलाई आगामी मंसिरमा हुने प्रदेश तथा  प्रतिनिधि सभाको उम्मेदवार बनाउने । 

त्यसका लागि प्रचण्डले काठमाडौं महानगरपालिकाको मेयर बालेन शाहले चुनाव जित्न अपनाएको रणनीतिमा काम गर्ने बताए । बालेनले मतदाताको सेन्टिमेन्टलाई आफ्नो पक्षमा पारेर चुनाव जितेको भन्दै प्रचण्डले माओवादीले त्योभन्दा चर्को सेन्टिमेन्ट सिर्जना गर्ने बताए ।

उनले नीतिगत रूपमा पनि राजधानीको हकमा नयाँ ढंगले सोच्ने अवस्थाको अन्तिम चरणमा रहेको बताएका थिए । 

‘संरचनाको हिसाबले पनि विशेष, सम्पर्क र उपत्यकावाला तीन वटा जिल्लाको संगठनलाई एक स्थानमा केन्द्रीकृत गरेर सिधै पदाधिकारीहरूले कमाण्ड गर्नेगरी हामीले संरचना सोच्दैछौं, तपाईँहरूले पनि सल्लाह गर्नु र सुझाव दिनुहोला । हामीले काठमाडौंमा रिजल्ट निकाल्नै पर्नेछ । एउटा त्यसरी गर्दैछौं,’ कार्यक्रममा प्रचण्डले भने ‘अर्को हामी उम्मेदवार पनि नयाँनयाँ मानिस लिएर आउने विषयमा सोच्दैछौं । यही भएकाले चलखेल गरेकाले जित्ने स्थिति देखिएन । निर्वाचन भनेको सेन्टिमेन्ट पनि हो र पर्सेप्सन पनि हो । यहाँ बालेनकाे सेन्टिमेन्टले जित्यो । हामीले पनि बालेनभन्दा चर्को सेन्टिमेन्ट ल्याउने उपाय खोज्दैछौं ।’

प्रचण्डको नयाँ योजनामा जाने घोषणा गरेलगत्तै नेपाल विद्युत प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङ माओवादीको उम्मेदवारको रूपमा काठमाडौं ३ बाट उम्मेदवार बन्ने चर्चा सुरु भएको छ । गत साउनमा घिसिङलाई चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाइएको थियो  । त्यसका लागि माओवादी अध्यक्ष प्रचण्ड र उर्जामन्त्री पम्फा भुसालले प्रमुख भूमिका खेलेका थिए । 

घिसिङ रामेछाप दोरम्बाका भए पनि काठमाडौं वडा नं. ६ का मतदाता हुन् । सो स्थान काठमाडौं ३ अन्तर्गत पर्छ । 

उम्मेदवार बन्न अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रस्तावलाई घिसिङले सकारात्मक रूपमा लिएको माओवादी स्रोतले जनाएको छ । यस विषयमा घिसिङ र प्रचण्डबीच विभिन्न चरणमा छलफल पनि भएको स्रोतले जनाएको छ । 

मंसिरमा हुने आमनिर्वाचनमार्फत दोस्रो ठूलो राजनीतिक दल हुने लक्ष्य लिएको माओवादीले काठमाडौंमा कम्तीमा २ स्थान जित्न खोजेको छ । त्यसका लागि माओवादी उपयुक्त पात्रको खोजीमा पनि रहेको छ । त्यसका लागि घिसिङ उपयुक्त पात्र हुने देखिन्छ । माओवादीको पक्षबाट कुलमानलाई उम्मेदवार बनाउने प्रचार भए पनि उनले यस विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेका छैनन् । माओवादी स्रोतहरूले भने शनिबारअघि नै यस विषयमा अन्तिम टुङ्गो लाग्ने बताएका छन् । 

वैशाख ३० गते भएको स्थानीय चुनावमा पनि माओवादीले घिसिङको फोटो प्रयोग गरेर प्रचार गर्न खोजेको थियो ।  माओवादी अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको फोटोसहितका सामग्रीहरू सामाजिक सञ्जालमा आएपछि निर्वाचन आयोगले घिसिङ र माओवादी दुवैलाई प्रष्टीकरण सोधेको थियो । 

उपत्यकामा माओवादीको अवस्था

काठमाडौं उपत्यकामा माओवादीको अवस्थाले प्रत्येक चुनावमा खस्किँदै गएको देखिन्छ । 

पहिलो संविधान सभा चुनावमा उपत्यकाका १५ निर्वाचन क्षेत्रमध्ये ललितपुरका ३ वटा र काठमाडौंका ४ वटा निर्वाचन क्षेत्रमा माओवादीले शानदार जित निकाल्याे । तर, त्यो जितलाई माओवादीले धेरै समय टिकाउन सकेन । 

पछिल्लो ४ वटा निर्वाचनको तथ्यांकले माओवादीको उपत्यकामा प्रभाव खस्किँदै गएको देखाउँछ । 

जनप्रतिनिधिका रूपमा संघीय संसद्मा माओवादीकाे एकमात्र निर्वाचित सांसद छिन्, पम्फा भुसाल । बागमती प्रदेशमा ललितपुरबाट नै राजकाजी श्रेष्ठ र लालकुमारी पुन ‘सुशीला’ मात्र निर्वाचित छन् । स्थानीय तह चुनावमा भने अघिल्लो पटकभन्दा यसपटक मूल नेतृत्वमा माओवादीले गुमाएको छ । २०७४ मा माओवादीले उपत्यकाभित्र ललितपुरको कोन्ज्योसोम गाउँपालिका मात्रै जितेको थियो । तर, अहिले सोही ठाउँ पनि गुमाउन पुग्यो । यसपटक उपत्यकाभित्रका जिल्लामा माओवादी केन्द्र शून्यमा पुग्यो ।

०७४ को स्थानीय तह निर्वाचनमा माओवादीले उपत्यकाभित्र ललितपुरको एउटा पालिकामा अध्यक्ष, उपाध्यक्ष, ललितपुर महानगर, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, काठमाडौंभित्र चन्द्रागिरि नगरपालिका र शंकरापुर नगरपालिकालगायतमा गरी कुल १२ वटा मात्रै वडाध्यक्ष र उपत्यकाभित्र समग्रमा ४२ जना सदस्य जितेको थियो ।

०७४ यता पनि माओवादीको उपस्थिति उपत्यकाभित्र बलियो बन्न सकेन । बरु पहिले जितेको एउटै पालिकाकाे नेतृत्व गुमाएको छ । गत स्थानीय तहमा एक्लै चुनाव लडेर जितेको कोन्ज्योसोममा माओवादीले कांग्रेससँग चुनावी तालमेल गरेर जाँदा पनि हार व्यहाेरेकाे छ ।

तालमेलका आधारमा माओवादीले विगतमा जितेको एउटै पालिकाको नेतृत्व गुमाए पनि बागमती र महाकांल गाउँपालिकामा उपाध्यक्ष जितेको छ । विगतमा एउटा सदस्यसमेत जित्न नसकेर शून्य रहेको भक्तपुरको मध्यपुरथिमी नगरपालिकामा उपमेयर र एउटा सदस्य जितेको छ ।

समग्रमा यसपटक माओवादीको उपत्यकामा दुई उपाध्यक्ष, १ एक उपमेयर, ११ वडाध्यक्ष (रुख चिन्हमा लेडेका १ सहित) र ३३ जना सदस्यहरू (रुखमा जितेका ३ सहित) जितेको छ । अघिल्लो चुनावमा भन्दा जनप्रतिनिधमा (अध्यक्षदेखि सदस्यसम्म) यसपटक माओवादीको संख्या घटेको छ । अघिल्लो पटक ५६ जना जनप्रतिनिधि जितेको माओवादी यो चुनावमा ४७ जनामा सीमित हुन आइपुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर