भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा ठूलो सैन्य सहायता घोषणा हुँदै

भारतीय सेनाले नेपाली सेनालाई आर्मड पर्सनल करियर (एपीसी) सहित ठूलो संख्यामा सवारी साधनलगायतका सैन्य सामाग्री सहयोग गर्ने भएको छ।

उच्च सैनिक स्रोतका अनुसार छिमेकी पहिलो नीति र भारतीय स्वतन्त्रताको अमृत महोत्सवका अवसरमा भारतीय सेनाले नेपाली सेनालाई आवश्यक सैन्य सामाग्री सहयोगस्वरूप नि:शुल्क उपलब्ध गराउन लागेको हो। यद्यपि सैन्य सहयोगको विवरण र संख्या भने भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेको नेपाल भ्रमणका क्रममा औपचारिक घोषणा हुनेछ।

सेनाध्यक्ष पाण्डे पाँच सदस्यीय भ्रमणदलका साथ भदौ १९ गतेदेखि नेपालको पाँच दिने भ्रमणमा आउँदैछन्। भारतीय सेनाको स्थल सेनाध्यक्षमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन लागेका हुन्। उनी भदाै १९ देखि २३ गतेसम्म नेपाल भ्रमणमा रहनेछन्।

गत २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिने निर्णय गरेको थियो। प्रधानसेनापति प्रभुराम शर्माले पाण्डेलाई भदौको २० देखि २३ सम्म नेपाल आउन परराष्ट्र मन्त्रालयमार्फत निमन्त्रणा यसअघि नै प्रस्ताव गरेका थिए।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणको प्रमुखता भनेको उनलाई नेपाली सेनाको मानार्थ महारथी पदवीबाट सम्मानित गर्ने, द्विपक्षीय सैन्य हितका विषयमा छलफल गर्ने र उनको उच्चस्तरीय भेटघाट हुनेछ। सेनाध्यक्ष पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहकाबीच नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गर्नेछिन्।

यस्तै उनले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी उनले आफ्नो भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ।

मानार्थ महारथीकाे इतिहास र महत्त्व

नेपाली सेना र भारतीय सेनाबीच आपसी सम्बन्ध सौहार्दताका लागि दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ।

सोही परम्पराअनुसार नेपालका हालका प्रधानसेनापति प्रभुराम शर्माले २०७८ कात्तिक २४ मा भारतका तत्कालीन राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी पदवी लिइसकेका छन्।

शर्माले उक्त पदवी लिएको नौ महिना बितिसकेको छ। उनी भारत भ्रमणमा जाँदा भारतका सेनाध्यक्ष मनोज मुकन्द नरवणे थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर