चोलेन्द्रले भने- संसद्बाट म अन्यायमा परेँ, न्यायका लागि समितिमा आएको हुँ

संसदीय समितिमा बयानका लागि उपस्थित निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूविरुद्ध गत फागुन १ गते संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्।

संसद्को महाभियोग सिफारिस समितिसमक्ष बुधबार बयानका लागि उपस्थित भएका राणाले आफू न्यायका लागि उपस्थित भएको र समितिले आफूलाई न्याय दिने विश्वास रहेको बताए।

बजेट अधिवेशन अगाडि संघीय संसद्को अधिवेशन समाप्त हुँदा नै आफूविरुद्धको महाभियोगको औचित्य समाप्त भइसकेको राणाले जिकिर गरे। आफूपछिको रोल क्रममा रहेका दीपककुमार कार्कीलाई प्रधानन्यायाधीश बनाउनका लागि महाभियोग ल्याइएको र अहिले पनि त्यही उद्देश्यले कायम राखिएको राणाको दाबी छ।

अहिले संसद्बाट आफूमाथि अन्याय भएको बताउँदै राणाले आफू न्याय माग्नका लागि समितिमा उपस्थित भएको समेत दाबी गरे।

संसद्ले संविधान र संसदको नियमावलीविपरीत काम गरेर आफूविरुद्ध महाभियोग कायम राखेको चोलेन्द्रले आरोप समेत लगाए।

आफूलाई सर्वोच्चमै हुँदा कार्कीलाई प्रधानन्यायाधीश बनाउन प्रस्ताव आएको, तर आफूले अस्वीकार गरेको उनको भनाइ छ। उनले आफू विधि र प्रक्रिया पूरा गरेर आएकाले सोही विधिअनुसार बाहिर जान तयार रहेको कुरा भन्दै आएको बताए। तत्कालीन समयमा सहकर्मी न्यायाधीशहरुले प्रश्न उठाएर राजीनामा दिन सुझाव दिँदा पनि राणाले यही विषयलाई दोहोर्‍याएका थिए।

राणाले समितिमा लिखित रूपमा आफ्नो कुरा राखेका छन्। राणाले आफ्ना कुरा राखेपछि सांसदहरुले प्रश्न सोध्न थालेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर