ताइवानबाट हुण्डीमार्फत पठाएको ४९ लाखसहित पक्राउ परेका अभियुक्त पुर्पक्षका लागि जेल चलान

ताइवानबाट हुण्डीमार्फत पठाएको ४९ लाख ५० हजार ५० रुपैयाँसहित पक्राउ परेका अभियुक्त पुर्पक्षका लागि जेल चलान भएका छन्।

हुण्डीमार्फत पठाएको सो रकमसहित साउन १८ गते पक्राउ परेका गोरखाको चुमनुब्री–१ घर भई काठमाडाैं महानगरपालीका–६ तीनचुली बगलामार्ग बस्न २४ वर्षका धावा घ्याल्चेन कारागार चलान भएका हुन्।

उनलाई काठमाडौं जिल्ला अदालतले मंगलबार ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ को कसुर मुद्दामा’ पुर्पक्षको लागि कारागार कार्यालय जगन्नाथदेवल, सुन्धारामा राख्न आदेश दिएको हो।

गत साउन १८ गते अपराह्न ५:१० बजे काठमाडाैं महानगरपालिका–०६ भृकुटी चोकस्थित सडकखण्डमा प्रहरी प्रभाग कपनबाट प्रहरी अधिकृतसहित खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा बा.९९ प ७२०४ नम्बरको एनएस मोटरसाइकलमा सवार घ्याल्चेनको साथबाट स्रोत नखुलेको ३२ लाख ५० रुपैयाँ (ताइवानबाट हुण्डीमार्फत पठाएकाे) फेला परेपछि उनी पक्राउ परेका थिए ।

उनललाई थप सोधपुछ गर्दा उनले आफू बस्ने डेरा कोठामा थप रकम राखेको भन्ने बताएपछि प्रहरी वृत्त बौद्ध र प्रभाग कपनबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलको डेरामा खानतलासी गरेर थप १७ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो।

प्रहरीले उनको साथबाट जम्ममा ४९ लाख ५० हजार ५० रुपैयाँसहित बा.९९ प ७२०४ नम्बरको एनएस मोटरसाइकल, उनको सक्कल नागरिकता, रेडमी मोबाइल १ थान, झोला १ थान र नीलो प्लास्टिकको झोला १ थान बरामद गरेको थियो।

बरामद नगद र सामानसहित पक्राउ परेका घ्याल्चेनमाथि जिल्ला प्रहरी परिसर काठमाडौंले अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरेको थियो।

काठमाडाैं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले उक्त रकम के प्रयाेजनका लागि पठाइएकाे थियाे भन्ने खुल्न बाँकी रहेकाे बताए। ‘यसरी विदेशबाट अवैध रूपमा पठाइएकाे रकमसहित पक्राउ परेकाहरूमध्ये केहीलाई राजस्व अनुसन्धान विभाग र केहीलाई सम्पत्ति शुद्धीकरण विभागमा पठाएर अनुसन्धान गर्ने गरेका थियाैं,’ एसपी मैनालीले पर्दाफाससँग भने, ‘घ्याल्चेनमाथि भने राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतकाे कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिएकाे हाे। बरामद रकम के प्रयाेजनका लागि पठाइएकाे हाे भन्ने खुलेकाे छैन।’

प्रहरीले विविध विधि र प्रविधि प्रयोग गरी अनुसन्धान कार्य पूरा गरेर अनुसन्धान अधिकृतको रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा बहस पैरवीपछि काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *