संयुक्त राष्ट्रसंघका महासचिव गुटरेस पाकिस्तान जाने

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् ।

पाकिस्तानमा केही हप्ता यतादेखिको बाढीपहिरोले पुर्‍याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेको महासचिव गुटरेसका प्रवक्ताले जानकारी दिएका छन् ।

उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने उनका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिएका हुन् । महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नेछन् ।

पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।

यो बाढीमा परेर तीन करोड ३० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यहाँ गएको हप्तादेखि अविरल रूपमा वर्षा भएको छ ।

राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई महिनामा वर्षाजन्य दुर्घटनामा परेर ती व्यक्तिको मृत्यु भएको हो । त्यहाँका एक हजार छ सय ३४ जना घाइते अस्पतालमा रहेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री साबाज शरिफले पाकिस्तानमा बाढीले इतिहासमै सबैभन्दा खराब रूपमा प्रभावित पारेको बताएका छन् ।

प्रधानमन्त्री शरिफले बाढीका कारण पाकिस्तानमा अहिले इतिहासमै सबैभन्दा बढी क्षति पुगेको बताउँदै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *