भारतीय सेनाको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोली स्वदेश फिर्ता

भारतीय सेनाको नेतृवमा नेपाल आएको टोली नेपालको पाँच दिने भ्रमण सकेर स्वदेश फर्किएको छ।

एयर भाइस मार्शल तेजवीर सिंहको नेतृत्वमा आइतबार नेपाल आएको सो टोली बिहीबार स्वदेश फर्किएको हो। नयाँ दिल्लीस्थित राष्ट्रिय रक्षा कलेजमा सञ्चालित ‘राष्ट्रिय रक्षा पाठ्यक्रम–६२’मा सहभागी शिक्षार्थीहरूसहितको ३१ सदस्यीय भ्रमणदल स्वदेश फिर्ता भएको हो।

भदौ १२ गते आइतबारदेखि पाँच दिने भ्रमणमा उनीहरूले उच्चस्तरीय भेटवार्ताका साथै विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको अवलोकन गरेका थिए।

सो क्रममा उनीहरूले प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका थिए। यस्तै उनीहरूले सैनिक मुख्यालय जंगी अड्डाको भ्रमण र प्रधान सेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका थिए।

जंगी अड्डा भ्रमणको क्रममा भ्रमणदलका सदस्यहरू नेपाली सेनासँग सम्बन्धित विषयहरूमा आधारित प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रममा सहभागी भए भने प्रधानसेनापति शर्मासँगको भेटमा दुई देशबीचको सैन्य सहकार्य र हितका विषयमा छलफल भएको थियो।

यस्तै उनीहरूले पोखरास्थित मध्य कमाण्ड हेडक्वार्टरको भ्रमण समेत गरे।

त्यसैगरी भ्रमणदलले पशुपतिनाथ मन्दिर, काठमाडौं दरबार स्क्वायर, लुम्बिनीलगायत काठमाण्डौं र पोखरामा अवस्थित विभिन्न पर्यटकीय स्थलहरूको अवलोकन गरेको छ।

भ्रमणदलमा भारत, भुटान, बंगलादेश, भियतनाम, साउदी अरब र अमेरिकाका अधिकारीहरू सहभागी थिए ।

विगतमा पनि विभिन्न मित्रराष्ट्रहरूमा सञ्चालित उच्चस्तरका सैनिक तालिममा सहभागी शिक्षार्थीहरूले नेपालको भ्रमण गर्ने प्रचलन रहिआएको छ । छिमेकी मित्रराष्ट्रहरूबाट हुने यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवम् वृहत्तर पार्न थप मद्दत पुग्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर