यसरी समातिए जंगलमा प्रेमिकाको हत्यापछि दुई वर्षदेखि फरार रहेका प्रेमी …

२०७७ मघ १० गते दिउँसोको फायरलाइन जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिले एक गर्भवती महिलाको हत्या भएको अवस्थाको लाश देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गर्छन् । तत्काल घटनास्थल पुगेको प्रहरीले पूर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेदमा बाँधेर हत्या गरिएको र अनुहारमा किरा परिसकेको अवस्थाको उक्त बेवारिसे महिलाको लाशको घटनास्थल र लाश जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल बुटबल पठाउँछ ।

सोपश्चात् प्रहरीले ती महिला को हुन् र कहाँही बासिन्दा हुन् भन्ने कुरा पत्ता लगाउन चौतर्फी खोजतलास गर्दछ तर पनि लाशको सनाखत नै हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाइल हालको साउन महिनासम्म पेन्डिङ अवस्थामा नै रहेको हुन्छ ।

इलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रूपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी आएपश्चात् पेन्डिङमा रहेको मुद्दाको थप अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराई हालसम्म पनि फेला नपरेका महिलाहरूको विवरण मगाएर अनुसन्धान गर्छन् तर पनि कहीँकतै कुनै पनि जिल्लामा उक्त हत्या गरिएकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी वा खोजतलासको लागि दिएको निवेदनसमेत फेला पर्दैन ।

त्यसपश्चात् प्रहरीले ती महिलाको लाशको फोटो र उनले लगाएको कपडा, घडी र माला लिई स्थलगत रूपमै खोजी गर्दछ । रूपन्देही जिल्लामा केही पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमाण्डमा प्रहरी टोली नै खटिएर अनुसन्धानको क्रममा यही साउन महिनामा उक्त हत्या गरी छाडिएकी महिला गुल्मी जिल्ला साविक अर्खवाङ वडा नं २ की ३५ वर्षीया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्यो ।

त्यसपछि प्रहरीले धनकुमारीका बुबा बर्ष ७० का भक्तिराम अर्याललाई गुल्मीबाट झिकाई उक्त लाशको सनाखत गराएको थियो । बुबा भक्तिराम अर्यालले लाशको हातमा भएको टाटु, आफ्नी श्रीमतीलाई भनि किनिदिएको घडी श्रीमतीले आफूलाई छोडेर जाँदा नलगेपछि चिनोको रुपमा छोरीलाई दिएको र उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरीको सनाखत गरेका थिए ।

बसन्ती आफैँले नै १५/१६ वर्षको उमेरमा बिहे गरी घरबाट टाढा भएकी थिइन् । त्यहीबीच बुटवलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर उनको कपिलवस्तु शिवराज–७ का काशिराम मुराउसँग भेट हुन्छ जुन समयमा उनी मिस्त्री काम गर्ने भोला लोहारसँग दुई छोरीको साथमा बसिरहेकी हुन्छिन् ।

काशिराम मुराउ तीन छोरी र एक छोराको बाबु हुन्छन् र घरमा श्रीमतीसमेत हुन्छिन । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राइभर काशिरामको बसन्तीसँग यौन सम्बन्धसमेत हुन्छ र बसन्ती गर्भवती भएपछि दुवै जना कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित बुड्डी भन्ने स्थानमा २०७७ सालको वैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दछन् ।

सोही बुड्डीमा बसिरहेको समयमा बसन्तीले घरमा बुबा भक्तिराम अर्याललाई फोन गरी हाल आफू काशिराम मुराउसँग रहेको र उनकै गर्भ मेत रहेकाले आफू चैत महिनातिर सुत्केरी हुने भनी घिउ, बेसार पठाइदिन भन्छिन् । तर, सो समयमा काशिरामले बारम्बार गर्भ फाल्नको लागि दबाब दिन्छन् । सो दबाब दिएको कुरामा बारम्बार झगडा भएको र आफूलाई गर्भकै कारण काशिरामले आफ्नो हत्या समेत गर्नसक्ने कुरा बसन्तीले आफ्नी एक साथीलाई बताउँछिन् ।

यसै क्रममा २०७७ सालको पुस महिनाको अन्तिम हप्तातिर बुटवल गएकी बसन्तिलाई काशिराम मुराउले आफैं बुटवल फुलबारीसम्म लिन गई सालझण्डीसम्म बसमा लगेर लोकल रक्सी र दालमोट किनी आफूलाई सालझण्डी बजारमा मानिसहरूले चिन्ने हुनाले ‘नजिकैको जंगलमा जाऔं, उतै रक्सी खाई रमाइलो गरौैंला’ भनी दिउँसोको करिब तीन बजेतिर फायरलाइन जंगलमा लिएर जान्छन् ।

जंगलमा लगेपछि रक्सी सेवन गराई आफैंले लगाएको गलबन्दीले धनकमुमारीको घाँटी कसेर हत्या गर्छन् । लाश नचिनियोस् भनेर धनकुमारीले लगाएको स्वेटरले मुखमा बेरी नजिकैको रुखमा बाँधेर रक्सीको बोतल र धनकुमारीले लगाएका चप्पलहरूसमेत वाणगगां नदमा बगाइदिन्छन् र आफू फरार हुन्छन् ।

हत्या भएको केही समयपछि काशिराम मुराउले बसन्ताका बुबालाई फोन गरी ‘बसन्ती हराएकी छिन्, मैले खोजिरहेको छ, प्रहरी समेतमा मैले नै खबर गरेको छु, तपाईंले केही गर्न पर्दैन भनी फोन गर्ने गरेका थिए । प्रहरीका अनुसार काशिरामले कतै कुनै माध्यमबाट बुबाले केही थाहा पाए कि भन्ने कुरा बुझ्नको लागि गत वैशाख महिनासम्म समेत बसन्तीको बारेमा केही पत्तो पाउनुभयो/भएन भनी गाउँमा बस्ने बसन्तीका ७० बर्षीया बुबा भक्तिराम अर्याललाई सोध्ने गरेका थिए ।

प्रहरीले अनुसन्धान गर्ने क्रममा बुबाबाट बसन्तीको सनाखत गराएकोमा बसन्तीका बुबाले काशिराम मुराउले नै आफ्नी छोरीको हत्या गरेको भनी प्रहरीमा किटानी जाहेरी दिए । जाहेरीपछि प्रहरीले काशिरामलाई बिहीबार पक्राउ गरेको छ । उनीमाथि ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासीनिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर