भिजिट भिसाको संगठित जालोमा गृह प्रशासनकै संलग्नताको आशंका

भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करीका घटना बढेपछि प्रहरीले निगरानी बढाएको बताइरहेको छ। तर, निगरानी बढाएको बताइए पनि मानव तस्करीको क्रम भने रोकिएको छैन। बरु झन् बढेको छ।

भिजिट भिसामा विदेश जानेका लागि सरकारले नयाँ कार्यविधि बनाएको छ । अनलाइनमार्फत भिजिट भिसाको पूर्वस्वीकृति दिने गरी गृह मन्त्रालयले नयाँ कार्यविधि स्वीकृत गरेको हो। तर, मानव तस्करहरूले ग्रामीण भेगका युवतीहरूलाई आकर्षक रोजगारको प्रलोभनमा भिजिट भिषामा दुबई र त्यहाँबाट अन्य मूलक पठाइरहेका छन्।

यस विषयमा प्रहरीको मानव बेचबिखन ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेको बताए पनि तस्करीको क्रम भने नरोकिएको हो।

नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर मल्लले यही भदौ ८ गतेदेखि ११ गतेसम्ममा भिजिट भिसामा विदेश जान लागेका २२७ जना यात्रुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता गरिएको बताए।

प्रहरीले कागजात शंकास्पद देखेपछि उनीहरूलाई विमानमा चढ्नबाट रोकेको थियोे। उनीहरूमध्ये केहीलाई माइती नेपाल पठाइएको र केहीलाई नियन्त्रणमा लिई हिरासतमा राखेर अनुसन्धान भइरहेको मल्लले बताए।

सरकारले घरेलु कामदार पठाउन रोक लगाएको कुवेत जाना लागेका उनीहरूलाई  फिर्ता गरिएको हो। उनीहरू कुवेतमा घरेलु कामदारका रूपमा आकर्षक तलबको प्रलोभनमा परेका थिए।

यस्तो गतिविधिमा संलग्न गिरोहले राहदानीलगायत आवश्यक कागजात आफैं बनाएर महिला र पुरुषलाई काठमाडौं ल्याइदिने गरेको खुलासा भएको छ। ‘राहदानीसहितका कागजात आफैं बनाइदिएर काठमाडौं ल्याएर राख्ने, दुबई भनेर पठाउने तर कुवेत पुर्‍याउने गरेको पाइएको छ,’ एसपी मल्लले पर्दाफाससँग भने।

अवैध रूपमा कुवेत पठाएको पुष्टि भएपछि पीडितहरूले नै कानुनी कारबाहीका लागि ब्यूरोमा उजुरी दिएको मल्लले बताए। पक्राउ परेकाहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत अनुसन्धान र संलगन अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

उनले विमानस्थलस्थित अध्यागमन र एयरलाइन्सको समेत मिलेमतोको आशंकामा भिजिट भिसामा जाने क्रम बढेपछि प्रहरीले यस्तो धन्दा रोक्न अग्रसरता लिएको बताए । भिजिट भिसाको संगठित जालोमा गृह प्रशासनकै संलग्नताको आशंका रहेको उनी बताउँछन्।

खाडीका देशमा बसेर कतिपय व्यक्तिले भिजिट भिसामा कामदार ओसार्न नेपालमा एजेन्ट नै राख्ने गरेको उजुरी पीडितले गर्दै आएका छन्। तर, भिजिट भिसामा कामदार पठाउने व्यक्तिलाई प्रमाण नहुँदा कारबाही गर्न समस्या भइरहेको जानकार बताउँछन्।

भिजिट भिसाका नाममा रोजगारीको प्रलोभनमा परी आर्थिक ठगीमा परेका पीडितले दिएको उजुरीका आधारमा एजेन्टको पहिचान खुल्दैन । कतिपय ठगिएका व्यक्तिलाई त ठग्ने व्यक्तिका बारेमा जानकारीसमेत नहुने गरेको पाइएको छ। यूएईसँग खाडीका अन्य देशमा समेत ट्राभल एजेन्सी, कन्सल्टेन्सी, म्यानपावर कम्पनी र तिनैका प्रतिनिधि एजेन्टले भिजिट भिसाका नाममा रोजगारीमा कामदार पठाइरहेको पाइएको छ।

पीडितले दिएको उजुरीका आधारमा भिजिट भिसामा कामदार पठाउने म्यानपावर र व्यक्तिगत एजेन्टको खोजी गरे पनि कारबाही गर्ने आधार नहुँदा उनीहरूले उन्मुक्ति पाउने गरेको बताइन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर