मुस्लिम आयोगका अध्यक्ष अन्सारीले विमानस्थलबाटै भगाए फरार अभियुक्त

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले अन्तर्राष्ट्रिय विमानस्थल भीआईपी कक्षको दुरुपयोग गर्दै अभियुक्त भगाएको खुलेको छ । पटक पटक विभिन्न विवादहरुमा मुछिएका अध्यक्ष अन्सारीले शुक्रबार ठगी मुद्दाका फरार अभियुक्त सुनसरीका रिजवान अन्सारीलाई भीआईपी कक्षको दुरुपयोग गर्दै भगाएका हुन् ।

शुक्रबार फ्लाई दुबईको विमानबाट नेपाल मुस्लिम आयोगको निमन्त्रणमा दुबईबाट भीआईपीलाई लिन अन्सारी विमानस्थल गएका थिए । सोही विमानबाट काठमाडौं ओर्लिएका रिजवानलाई अन्सारीले भीआईपीहरूकै समूहमा मिसाएर रिजवानलाई कक्षमा लगेका थिए ।
अध्यागमन कार्यालयले रिजवानको ०६३२४१२२ नम्बरको पासपोर्ट चेक गर्दा उनी ‘कालोसूची’मा रहेको खुलेपछि उपस्थित गराइदिन भीआईपी कक्षलाई भन्यो।

तर, पासपोर्टमा ‘अराइभल’ छाप नलाग्दै अध्यक्ष अन्सारीले उनलाई आफ्नै गाडीमा राखेर विमानस्थलबाट भगाए।

राति अबेरसम्म प्रहरीले रिजवानको खोजी गरे पनि पक्राउ गर्न सकेको छैन। उनको पासपोर्ट अध्यागमन कार्यालयमै छ।

अध्यागमनको अराइभल छाप नलागी कोही पनि विमानस्थलबाट निस्कन नमिल्ने भए पनि अन्सारीको संरक्षणमा भीआईपी कक्ष प्रयोग गरेर भाग्न सफल भए। दाउद हुसेनलाई ठगी गरेको मुद्दामा रिजवानविरुद्धको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख रुपैयाँ लिएका थिए। तर, पढाउने व्यवस्था पनि नगरेको र पैसा पनि फिर्ता नदिएपछि गत वर्ष १ कात्तिकमा उनले प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए।

अदालतले उनीविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ गर्न नसकेपछि प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो।

रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत गुहारेको थियो। यो मुद्दामा रिजवानका बुबा रमाजान मियाँलाई प्रहरीले पक्राउ गरिसकेको छ। विमानस्थलबाट नक्सालस्थित म्यारिएट होटल पुगेका रिजवान प्रहरी पुग्दा त्यहाबाट पनि वेपत्ता भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर