मुस्लिम आयोगका अध्यक्ष अन्सारीले विमानस्थलबाट भगाएका अभियुक्त पक्राउ

मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षको दुरुपयोग गर्दै भगाएका अभियुक्त पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले शुक्रबार राति १० बजे त्यसरी भागेका अभियुक्त सुनसरीका ३० वर्षीय रिजवान आलमलाई नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको हो । पक्राउ परेका आलमलाई अहिले प्रहरी वृत्त गौशालामा राखिएको छ ।

उनी विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि आलमको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित भएको थियो । राति होटलमै बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा स्रोतका अनुसार आलम दुबईबाट आएका त्यहाँका ‘भीआईपी डेलिगेट्स’हरूसँगै काठमाडौं आएका थिए । उनलाई दोभासेका रूपमा काठमाडौं ल्याइएको स्रोतले जनाएको छ ।

पटकपटक विभिन्न विवादहरूमा मुछिएका अध्यक्ष अन्सारीले शुक्रबार ठगी मुद्दाका फरार अभियुक्त अन्सारीलाई भीआईपी कक्षको दुरुपयोग गर्दै भगाएका थिए । फरार अभियुक्तको पासपोर्ट अध्यागमन कार्यालयमै छ।

अध्यागमनको अराइभल छाप नलागी कोही पनि विमानस्थलबाट निस्कन नमिल्ने भए पनि अन्सारीको संरक्षणमा भीआईपी कक्ष प्रयोग गरेर भाग्न सफल भएका थिए । दाउद हुसेनलाई ठगी गरेको मुद्दामा रिजवानविरुद्धको ठगी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

छोरालाई दुबईमा पाइलट पढाइदिने भन्दै उनले हुसेनसँग एक करोड ६८ लाख रुपैयाँ लिएका थिए । तर, पढाउने व्यवस्था पनि नगरेको र पैसा पनि फिर्ता नदिएपछि गत वर्ष १ कात्तिकमा उनले प्रहरी परिसर टेकुमा जाहेरी दिएका थिए ।

अदालतले उनीविरुद्ध गत फागुनमै पक्राउ पुर्जी जारी गरेको थियो। पक्राउ गर्न नसकेपछि प्रहरीले फरार अभियुक्तका रूपमा मुद्दा दायर गरेको थियो।

रिजवानलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)लाई समेत गुहारेको थियो। यो मुद्दामा रिजवानका बुबा रमाजान मियाँलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर